चार वर्षीय बालकसहित दुईको मृत्यु

झापा, असार २५ । झापाको बिर्तामोड नगरपालिकामा छुट्टाछुट्टै घटनामा चार वर्षीय बालकसहित दुईको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार आइतबार अपराह्न बिर्तामोड नगरपालिका-७ स्थित देवेन्द्र अधिकारीका चार वर्षीय छोरा स्मालय भनिने नीरज अधिकारीको आफनै घर नजिकैको खाल्डोमा डुबेर मृत्यु भएको हो । दाजुसँग खेल्दाखेल्दै उनी खाल्डोमा झरेर डुबेको प्रहरीले जनाएको छ ।

यता बिर्तामोड-२ निवासी धनमाया लिम्बूको करेन्ट लागेर मुत्यु भएको छ । ६५ वर्षीया लिम्बूलाई विद्युत्को तार जडान गर्ने क्रममा आइतबार करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते उनको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले झापाको बिर्तामोड नगरपालिका-१ मा रहेको भ्यू पोइन्ट होटल एण्ड लजबाट सात जनालाई पक्राउ गरेको छ । गएराति होटलमा रहेर सामाजिक मर्यादाक्रमविरुद्धका कार्यमा संलग्न भएको भन्दै प्रहरीले दुई युवतीसहित सात जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । -रासस

कमेन्ट गर्नुहोस्