संसदको बैठक बस्दै, यी हुन कार्यसूची

काठमाडौं, असार २५ । संघीय संसदको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकका चारवटा कार्यसूची रहेका छन।

बैठकको शुरुमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणको पत्र पढेर सुनाउने पहिलो कार्यसूची रहेको छ।

त्यसैगरी सभामुखले संसदीय सुनुवाई समितिमा रहने सदस्यको नाम मनोनयका लागि प्रस्ताव गर्ने दोस्रो कार्यसूची रहेको छ ।

आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पनि पेश गर्ने कार्यसूची रहेको छ । जसमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले ‘चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा क्षेत्रमा विद्यमान विसंगितलाई समाप्त गर्न सर्वसुलव र गुणस्तरीय सेवा उपलब्ध गराउन, निर्वतमान सरकारले जारी गरेको अध्यादेशका मुल भावना अनुरुप विधेयक तत्काल ल्याई अनसनरत डा गोविन्द केसीको स्वास्थ्य उपचार गरी जीवन रक्षा गरीयोस्’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिने संसद सचिवालयले जनाएको छ ।

त्यसैगरी, अर्थ मन्त्री डा. युवराज खतिवडाले ‘लेखा परीक्षण विधेयक २०७५’ माथि विचार गरियो भनी प्रस्ताव प्रस्तुत गर्ने चौथो कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्