काठमाडौंमा नेपाल र भारतका रेल अधिकारीबीच छलफल हुँदै

काठमाडौं, असार २५ । नेपाल र भारतका रेल विभागका अधिकारीबीच आज छलफल ह्ँदै छ । छलफलमा क्रस बोर्डर रेल कनेक्सन तथा जनकपुर–जयनगर रेल सञ्चालनको मोडालिटीबारे दुई देशका प्रतिनिधिबीच छलफल हुँदैछ ।

राजधानीको एक होटलमा सोमबार अपरान्ह शुरु हुने छलफलमा निकट भबिश्यमा रेल सेवा सञ्चालन गर्ने तयारी भएको परियोजना र पाँचवटा क्रस बोर्डर परियोजनाबारे छलफल हुने रेल विभागका सूचना अधिकारी प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।

छलफलका लागि सदस्यीय भारतीय टोली काठमाडौं आइसकेको छ । यसअघि पनि नेपालमा रेल सञ्चालनका लागि भारतीय पक्षले विभिन्न चरणमा छलफल गरेको थियो । तर आजको बैठकमा जनकपुर–जयनगर परियोजनाबारे निर्णायक छलफल हुने बताइएको छ । सो परियोजनामा भारतबाट रेल लिजमा लिएर सञ्चालन गर्ने गरी नेपाली पक्षले तयारी गरेको छ ।

त्यस्तै प्राबिधिक तथा दक्ष प्रशिक्षकको उपलब्धताका बिषयमा पनि नेपाली पक्षले भारतीय अधिकारीसँग कुरा राख्ने जनाएको छ । मंगलबारसम्म चल्ने छलफलमा यसअघिका छलफलमा पूर्णता पाउन नसकेका बिषयमा पनि दुई देशीय प्रतिनिधि मण्डलबीच छलफल हुने उपाध्ययले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्