एकता भंग गर्ने गच्छदारको चेतावनी

काठमाडौं, असार २५ । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सहमति कार्यान्वयन नभए एकता भंग हुने चेतावनी दिएका छन् ।

नेता गच्छदारले पार्टी एकता हुँदा भएका सहमति आजसम्म कार्यान्वयन नभएको भन्दै यस्तो चेतावनी दिएका हुन ।

सोमबार काठमाडौंमा पार्टीका पुराना नेताहरुसँगको सामूहिक भेटमा उनले आफूलगायत तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका हजारौं नेता, कार्यकर्तालाई अपमान गर्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरे।

उनले गुट र उपगुटमा विभाजित कांग्रेसले कम्युनिष्ट नेतृत्वको सरकारलाई सामना गर्न नसक्ने दावी गरे । नेता गच्छदारले पार्टी नेतृत्वले आफू र आफ्ना समर्थकलाई बिचल्लीमा पारेको आरोप लगाए ।

गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र कांग्रेसबीच गएको असोज २१ गते पार्टी एकीकरण भएको थियो ।

कमेन्ट गर्नुहोस्