थाई गुफाः बाँकी पाँचजनाको उद्धार कार्य शुरु

काठमाडाैं । गोताखोरहरूले उत्तरी थाईल्याण्डस्थित एउटा गुफामा फसिरहेका बाँकी पाँचजनाको उद्धार कार्य शुरू गरेका छन् । चारजना बालक र उनीहरूका फुटबल प्रशिक्षकको गुफाभित्र स्वास्थ्य अवस्था ठिक रहेको बुझिएको छ।

गत जुन २३ देखि गुफाभित्र फसेका १२ बालक र उनीहरूका फुटबल प्रशिक्षकलाई बाहिर ल्याउन एउटा चुनौतीपूर्ण र जटिल उद्धार अभियान आइतवार थालिएको थियो। गत दुई दिनमा आठ बालकहरूलाई गुफाबाट निकालिसकिएको छ।

ध्यानचियाङ राई प्रान्तको पहाडी भेगमा अवस्थित ताम लुङ्ग गुफामा भइरहेको उद्धार कार्यले अन्तर्राष्ट्रिय रुपमा ध्यान तानेको छ।

भीषण वर्षापछि आएको बाढीका कारण गुफाभित्र थुनिएका बालक तथा उनीहरूका प्रशिक्षकलाई गत हप्ता गोताखोरहरूले फेला पारेका थिए।

सोमवार गुफाबाट निकालिएका बालकहरूलाई नजिकैको चियाङ राईस्थित एउटा अस्पताल पुर्‍याइएको थियो। पहिलो चरणमा आइतवार उद्धार गरिएका चार बालकलाई अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ।

उनीहरूलाई परिवारका सदस्यसँग अहिलेसम्म पुनर्मिलन गराइएको छैन। थाइ अधिकारीहरूका अनुसार बालकहरू चामलको पोरिज खान समर्थ छन्।

 

यद्यपि बालकहरूले सुंगुरको मन पर्ने परिकार माग गरे पनि उनीहरूको पाचनप्रक्रिया ठिक नहुञ्जेल त्यो नदिइने अधिकारीहरूले बताएका छन्।

४० जना थाई र ५० जना विदेशी गरी ९० जना गोताखोर भएको एउटा टोली उद्धार अभियानमा संलग्न छ । बीबीसी

कमेन्ट गर्नुहोस्