मेयर र प्रशासकीय अधिकृतसहित पाँच जना पक्राउ

रौतहट, असार २६ । जिल्ला प्रशासन कार्यालय गौरले मंगलबार गढिमाई नगरपालिकाका मेयरसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

चन्द्रपुर नगरपालिकास्थित होटल हिमालयनबाट मेयर, प्रमुख प्रशासकीय अधिकृत र लेखापाल लगायतका कर्मचारीलाई नियन्त्रणमा लिइएको हो । नगरपालिकाको चेकसहित विभिन्न कागजातहरु प्रशासनले नियन्त्रणमा लिएको छ ।

नगरपालिकाको विभिन्न योजनाको भुक्तानी लगायतको काम होटलमा बसेर गरिरहेको सुचनापछि मेयर श्यामप्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विक, लेखापाल विमल मिश्र, नायब सुब्बा करपुरी ठाकुर र कार्यालय सहायक अजयकुमार यादवलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

‘नियन्त्रणमा लिइएकाहरुको प्रारम्भिक बयान लिएका छौँ,’ उनले भने, ‘विस्तृत विवरण अख्तियारको हेटौडा कार्यालयमा पठाउने छौँ ।’ कर्मचारीलाई तारेखमा छाडे पनि नगरपालिकाको कागजातहरु सबै अख्तियारमा पठाईने उनले जनाए ।

बिहानदेखि होटलको रुम नम्बर १११ मा मेयर यादव लगायतका कर्मचारी बसेका थिए । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले उनीहरुलाई नियन्त्रणमा लिई सदरमुकाम गौर पठाईएको हो । नगरपालिकाका कर्मचारीको तलबका लागि चेक काटिएको अवस्थामा फेला पारेको छ ।

नगरप्रमुख यादवले लेखापाल मिश्र कार्यालयमा हाजिर नहुने र उनलाई सर्लाहीको बलराबाट बोलाएर कार्यालयकै काम गराउन लागिएको बताए । ‘हामिले कुनै किसिमको अनियमितता गर्न लागेका होइनौँ,’ उनले भने,‘कार्यालय समय अगावै नियम अनुसार नै कार्यालयका कर्मचारीको तलब भत्ता र अन्य काम गर्न बसेका हौँ ।’

लेखापाल मिश्र कार्यालयमा हाजिर नभएपछि नगरप्रमुख यादवलाई विभिन्न योजनाको भुक्तानीमा समस्या हुदै आएको थियो । उनले पटक पटक भुक्तानी रोक्न नहुने भन्दै लेखापाल मिश्रलाई बोलाउने गरेका थिए ।

कार्यालयकै नियमित कामका लागि लेखापाल मिश्रलाई सर्लाहीबाट बोलाएर काम गराउने क्रममा नियन्त्रणमा लिईएको हो । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्