शैक्षिक प्रमाणपत्र धितो राखी ऋण दिने कार्य शुरु

पाल्पा, असार २७ ।  जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको सुरुवात गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन सुरु गरेको हो ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले शैक्षिक बेरोजगारी हटाउन युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गरिएको बताए । युवा लक्षित युवा स्वरोजगार कृषि विकास, पशु सेवा कार्यक्रम सञ्चालनका लागि चालू वर्षमा विनियोजित रकम सात लाखबाट ऋण उपलब्ध गराइएको हो ।

युवा समूहका अगुवा प्रेमबहादुर बगालेको समाजशास्त्र स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र धितो राखेर समूहका सदस्यलाई चार लाख रुपैयाँ उपलब्ध गराइएको छ । बगनासकाली युवा कृषक समूह वडा २ र ३ लाई कृषि तथा पशुपालनका लागि चार लाख रुपैयाँ ऋण प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले दिएको ऋणबाट तीन महिनाभित्र काम सुरु हुनुपर्ने छ भने दुई वर्षसम्म ब्याज तिर्नु पर्दैन । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाएपछि यहाँका युवा खुसी भएका छन् ।

कमेन्ट गर्नुहोस्