नेकपाको प्रदेश र जिल्ला कमिटी कति सदस्यीय बन्यो ? हेर्नुस्

काठमाडौं, असार २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले न्यूनतम १ सय ७५ देखि २ सय १७ जनासम्मको प्रदेश र १ सय ४५ देखि २ सय २५ सदस्यसम्मको जिल्ला कमिटी बनाउने भएको छ । धानमन्त्रीनिवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रसहित सबै कमिटीको आकार टुंग्याउँदै पार्टी सञ्चालनका लागि विधान र नियमावली पारित गरेको हो ।

‘निश्चित मापदण्डका आधारमा प्रदेश र जिल्ला कमिटी गठन गर्ने गरी विधान र नियमावली पारित गरिएको छ,’ केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले नयाँ पत्रिकासँग भने, ‘अब तल्ला कमिटी र जनसंगठनहरूको एकीकरण प्रक्रियाले तीव्रता पाउनेछ ।’ स्थायी समितिमा तल्ला कमिटीहरूको आकार बढाउनुपर्ने सुझाब आएपछि गौतमकै संयोजकत्वमा सुझाबका लागि नेकपाले कार्यदल बनाएको थियो ।

कार्यदलको सुझाबअनुसार नेकपाको सचिवालयले विधान र नियमावली परिमार्जनसहित पारित गरेको हो । पारित विधान र नियमावलीअनुसार तल्ला कमिटी र जनसंगठनहरूको एकीकरण प्रक्रिया छिटै सम्पन्न हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यस्तो छ प्रदेश र जिल्ला कमिटी गठनको मापदण्ड
नेकपाको विधानले प्रदेश कमिटीहरू न्यूनतम १ सय ५१ सदस्य र जिल्ला कमिटी न्यूनतम १ सय २५ जनाको हुने व्यवस्था गरेको छ । तर, प्रदेश कमिटीमा प्रत्येक निर्वाचन क्षेत्रबाट दुईजनाको प्रतिनिधित्व थपिने व्यवस्था गरिएको नेता गौतमले जानकारी दिए ।

यसअनुसार सबैभन्दा बढी ३३ वटा निर्वाचन क्षेत्र रहेको प्रदेश ३ मा २ सय १७ सदस्यीय प्रदेश कमिटी गठन हुनेछ । त्यस्तै, सबैभन्दा कम निर्वाचन क्षेत्र रहेको प्रदेश ६ मा १ सय ७५ सदस्यीय प्रदेश कमिटी गठन हुनेछ ।

त्यस्तै, जिल्ला कमिटीहरू न्यूनतम १ सय २५ सदस्यीय हुनेछन् । तर, प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबराबर १० जना संख्या थपिने गरी जिल्ला कमिटी बन्नेछ । यसअनुसार सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको काठमाडौं जिल्ला कमिटी २ सय २५ सदस्यीय हुनेछ भने १ निर्वाचन क्षेत्र भएका जिल्ला कमिटी १ सय ४५ सदस्यीय हुनेछन् । विधानले व्यवस्था गरेको यही मापदण्डका आधारमा दुवै पार्टीका तल्ला कमिटी एकीकृत हुने नेता गौतमले बताए ।

प्रदेश र जिल्ला कमिटीमा अध्यक्ष र सचिव मात्र पदाधिकारी रहने भएकाले तत्कालीन एमालेले नेतृत्व लिएको स्थानमा माओवादी केन्द्रले सचिव लिनेछ । त्यस्तै, तत्कालीन माओवादीले नेतृत्व लिएको स्थानमा तत्कालीन एमालेले सचिव पाउनेछ । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्