प्रधानमन्त्रीले अस्पताल पुगेर भेटे सांसद आलमलार्इ

काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको छ ।

बासवारीस्थित गंगालाल हृदयरोग केन्द्रमा आज पुगेर प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतासमेत रहनुभएका आलमको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

रौतहटका आलमलाई हृदयघात भएपछि बिहीबार गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो । उहाँले आलमको उपचारमा संलग्न चिकित्सकलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आलमको शीघ्र स्वास्थ्य लाभको कामना गदै परिवारका सदस्यलाई पनि आश्वस्त रहन आग्रह गर्नुभयो ।

आलम गत मंसिरमा भएको संघीय संसद्को निर्वाचनमा रौतहट– २ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार रहनुभएको थियो ।

कमेन्ट गर्नुहोस्