पाकिस्तानमा आत्मघाती बम आक्रमण, १२८ जनाको मृत्यु

एजेन्सी, असार ३० । पाकिस्तानको दक्षिण-पश्चिमी प्रान्त बलुचिस्तानमा आत्मघाती बम आक्रमण हुँदा कम्तिमा १२८ जनाको ज्यान गएको छ । बलुचिस्तानको मास्तुङ्ग जिल्लामा भएको एक चुनावी र्‍यालीमा शुक्रबार आत्मघाती बम आक्रमण भएको हो । घटनामा सयौँ मानिस घाइते भएका छन् ।

पछिल्लो चार वर्षमा पाकिस्तानमा भएको यो सबैभन्दा ठूलो आक्रमण रहेको सरकारी अधिकारीले बताएका छन् । घटनामा ज्यान गुमाउनेमा आउँदो चुनावका लागि मास्तुङ्गबाट उठेका उम्मेदवार पनि रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मेवारी लिएको छ । बलुचिस्तान अवामी पार्टीका नेता नवाबजादा सिराज रईसानीको पनि घटनामा ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् ।

आक्रमण क्वेटी नेहसाना राजमार्गको उक्त पूर्व तथा क्वेटाबाट झण्डै ३५ किलोमिटर पर भएको हो । विस्फोटका लागि ८ देखि १० किलो विस्फोटक पदार्थ प्रयोग भएकाले ठूलो क्षति भएको हो ।

सिराज रईसानी बलुचिस्तानका पूर्व मुख्यमन्त्री नवाब असलम रईसानीका भाइ हुन् र आउँदो चुनावका लागि सिराजले असलम विरुद्ध नै उम्मेवारी दिएका थिए । उनले गरेको चुनावी र्‍यालीमा आक्रमण भएको हो र धेरैको ज्यान गएको छ ।

कमेन्ट गर्नुहोस्