आदिकवि भानुभक्तका केही कविता

अमरावती कान्तिपुरी नगरी

चपला अबलाहरु एक् सुरमा,
गुनकेसरिको फुल ली शिरमा।
हिडन्या सखि लीकन ओरिपरी
अमरावति कान्तिपुरी नगरी।।

यति छन् भनि गन्नु काहाँ धनि ञाँ,
खुसि छन् बहुतै मनमा दुनिञाँ।
जनकी यसरी सुखकी सगरी,
अलकापुरि कान्तिपुरी नगरी।।

कहिँ भोट – र लण्डन – चीन – सरी,
कहिँ काल्-भरि गल्लि छ दिल्ली-सरी।
लखनौं – पटना – मदरास – सरी
अलकापुरि कान्तिपुरी नगरी।।

तरबार कटार खुँडा खुकुरी,
पिसतोल र बन्दुक सम्म भिरी।
अतिशूर – र – वीर – भरी नगरी,
छ त कुन्- सरि कान्तिपुरी नगरी।।

रिस राग कपट् छल छैन जाँहाँ,
तव धर्म कती छ कती छ याहाँ,
पशुका पति छन् रखबारि गरी,
शिवकी पुरि कान्तिपुरी नगरी।।

ख्वामित् यस् गिरिधारिले

ख्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो झेल् पनी,
यस्का झेल उतार्नलाइ सजिलो यै हो व्यहोरा पनी।
ख्वामित् लाइ चढाउँनाकन यहाँ क्यै श्लोक् कवीता गर्याँ,
मेरा श्लोक् सुनिबक्सियोस् त झगडा छीनिन्छ पाऊ-पर्याँ।।

बीस् साल् सम्म त ज्यान त्यान यहिं वाँद् लाग्यो र खेत् रोपिया,
यो साल् बाँद पनि खोलिएछ जलले ढुङ्गा सबै छोपिया,
ढुङ्गा खोजि लगाउँ बाँद कसरी राख्तैन ढुङ्गा पनी,
मानिस् पस्न त क्वै सकेन जलमा स्वात्तै बगम्ला भनी।।

अर्ज्याल् भाट ढकाल् अचार्ज इन चार् जम्मा भई सब् वस्यौं,
मील्यो मत् सब मोहिको र मतले बाँद् लाऊनामा पस्यौं,
उस् मौका गिरिधारि एहि पनि भाट् सल्लाहमा नै थियो,
भर् यस्को नभएर मात्र अहिले यस्तो उजुर् पो दियो।।

घाँसी

 भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो ।

मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति ।

बालाजि

 यति दिन पछि मैले आज बालाजि देख्याँ,
पृथिवि तलभरीमा स्वर्ग हो जानि लेख्याँ।
वरिपरि लहरामा झूलि बस्न्या चरा छन्,
मधुर वचन बोली मन् लिँदा क्या सुरा छन्।।१।।

याँहाँ बसेर कविता यदि गर्न पाऊँ,
यस्देखि सोख अरु थोक म के चिताऊँ।
उस्माथि झन् असल सुन्दरि एक् नचाऊँ,
खैंचेर इन्द्रकन स्वर्ग यहीं बनाऊँ।।२।।

रोज् रोज् दर्शन पाउँछू

 रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू।
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु।
लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी।
लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी।

जागिर् छैन धनी म छैन घरको केबल् कुदालो खनी,
खान्थ्याँ दुक्ख गरेर चाकरि गर्याँ मान् पाउँला की भनी।
एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि।
मान्पाथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी।

बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली।
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोली।
की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि।
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली।

कमेन्ट गर्नुहोस्