विश्वकप उपाधिः फ्रान्सले विश्वकप जित्न सक्ने कारण यी हुन्

काठमाडौं, असार ३१ । आज रसियामा जारी विश्वकप फुटबलको उपाधि भिडन्त । उपाधिका लागि फ्रान्स र क्रोएसिया तयारी अवस्थामा छन् । फुटबल समर्थकमा २१औं संस्करणको उपाधि कसले जित्ला भन्ने कौतुहलता छ । यी दुबै टिमबीच उपाधि भिडन्त हुनुपूर्व विभिन्न अनुमान तथा विश्लेषण पनि हुन थालेका छन् । यसैबीच फिफा डट कमका लागि फ्रान्सका पत्रकारले विश्लेषण गरेका छन् । उनीहरुले फ्रान्स जित्न सक्ने तीन कारण प्रस्तुत गरेका छन् ।

१ एकता
रक्षापंक्ति र अग्रपंक्ति दुवै फ्रान्सको बलियो छ । प्रतियोगिता अवधिभर फ्रान्सको रक्षापंक्ति र अग्रपंक्तिले प्रभावित पारेको छ । प्रतियोगिता सुरुभएदेखि अहिलेसम्म मात्रै ९ मिनेट फ्रान्सले खेलमा आफ्नो नियन्त्रण गुमाएको छ वा कमजोर देखिएको छ । एनगोलो कान्टेले पछिल्लो क्रमको पोसेसन ४८ पटक बाजी मारेका छन्, जारी प्रतियोगितामा यो अरु कुनै पनि खेलाडीको भन्दा धेरै हो । ह्युग लोरिसले पछिल्लो सातपटक भएका पोस्ट प्रहार जोगाएका छन् ।

डिडिएर डेसच्याम्पसको टिमले पछिल्लो ११ खेलमा ८ मा जित निकालेको छ । यसको अर्थ ७३ प्रतिशत खेलमा उनले जित निकालेका छन् । विश्वकपमा कम्तिमा १० खेलमा प्रतिनिधित्व गरेका प्रशिक्षक मध्ये डेसच्याम्सको यो जित प्रतिशत सबैभन्दा धेरै हो । अर्जेन्टिनासँगको खेलमा दुई गोल गरेका केलियन एमबाप्पे सन् १९५८ मा पेलेपछि विश्वकपको नकआउट चरणमा गोल गर्ने कम उमेरको पहिलो खेलाडी बने ।

२ टिम स्प्रिट
‘विश्वकपले प्रतिभावना खेलाडी होइन, टिमलाई प्रतिनिधित्व गर्छ’, बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले सेमिफाइनलमा पराजित भएपछि भनेका थिए । डेसच्याम्पसको टिम विश्वकपमा एकता र सामूहिक भावनाको उदहारण बनेको छ । पहिलो कुरा, फुटबलमा हरेक खेलाडीले टिमका लागि चाहिएको प्रभाव पार्न सक्छन् र महत्वपूर्ण गोल पनि । यसको प्रमाण फ्रान्सले दिएको छ ।

यो प्रतियोगितामा अहिलेसम्म फ्रान्सले गरेका गोलमा गोलकर्ता डिफेन्डर, मिडफिल्डर र फरवाडर छन् । सबै खेलाडी प्रतियोगितामा चम्किएका छन् । दोस्रो कुरा, मानवीयता । फ्रान्सेली टिमले प्रतियोगिताभर उत्कृष्ट मानवीय भावना प्रस्तुत गरेको छ । हरेक कुराको उत्साह मनाउँदो टिमका सबै खेलाडी, सुरक्षा टिमका सदस्यदेखि सबै एकताबद्ध भएका छन् । टिमको मिसानमा सबै सहभागी भएका छन् । यसले टिमलाई यो लामो यात्रा तय गर्न सजिलो बनाएको छ ।

३ इतिहास
पहिलोपटक विश्वकप जितेको २० वर्षपछि फ्रान्स फेरि विश्वकपको फाइनलमा पुगेर जित्नका लागि तयारी अवस्थामा छ । फाइनलमा क्रोएसिया प्रतिस्पर्धी पाउनु फ्रान्सका लागि २० वर्षअघिको सम्झना पनि हो । सन् १९९८ को विश्वकपको सेमिफाइनलमा फ्रान्सले क्रोएसियालाई हराएको थियो, २-१ ले । यसपटकको फाइनल खेल क्रोएसियाका लागि त्यो हारको बदला लिने मौका पनि हो ।

यदि फ्रान्सले विश्वकप जित्यो भने डेसच्याम्पस तेस्रो त्यो व्यक्ति बन्ने छन् जसले खेलाडी र प्रशिक्षकका रुपमा विश्वकपको उपाधि जित्ने छन् । डेसच्याम्पसले सन् १९९८ मा खेलाडीका रुपमा उपाधि जितेका थिए । यसअघि मारिओ जागालो र प्रान्ज बेकेनबाउरले यो करामत गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्