दमनको बदला लिंदै माओवादी, छत्तीसगढमा प्रहरीमाथि हमला, २ को मृत्यु

छत्तीसगढ, असार ३१ । माओवादी बिरोधी अपरेशनका लागि गाउँ पसेको सुरक्षाकर्मीमाथि भारतीय कम्युनिष्ट पार्टी माओवादीका जनसेनाले आक्रमण गरेका छन् ।

पिटिआई समाचार एजेन्सीका अनुसार, छत्तीसगढको कांकेरमा आइतबार सीमा सुरक्षा बलका जवानहरुसँग नक्सलवादीहरुको भीडन्त भएको थियो । यो भीडन्तका क्रममा निकै ठूलो गोलाबारी भएको र दुई सुरक्षाकर्मीको मृत्यु भएको छ ।

सुरक्षाकर्मीतर्फ अन्य केही घाइते भएका छन् । प्रतापपुर थाना क्षेत्रमा बिएसफको ११४ औं बटालियन माओवादी बिरोधी अप्रेसन सकेर फर्किंदै गरेको बेला बरकोट गाउँको जंगलमा आक्रमण भएको थियो ।

प्रहरीमाथि आक्रमणपछि माओवादीहरु भागेर जंगलतर्फ गएको बताइन्छ । प्रहरीले यसअघि छत्तीसगढमा दर्जनबढी माओवादी सेनाहरुको हत्या गरेको बिरोधमा यो आक्रमण गरिएको देखिन्छ ।

भारतमा नक्सलवादीहरुको प्रभाव पछिल्लो दिनमा फेरी बढेर गएको छ । नक्सलवादीको समस्या राजनीतिक तवरबाट हल गर्नुपर्ने आवाज उठिरहे पनि भारत सरकारले भने प्रतिरोधपूर्ण तरिकाले नक्सलवादीहरुलाई समाप्त पार्न बिभिन्न अप्रेसनहरु चलाउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्