‘न मेरो बलात्कार भयो, न त मेरा श्रीमान नै बलात्कारी हुन्’

भारतको पञ्जाबमा नाबालिक छोरीको बलात्कार गरिएको भन्दै एकजना युवकविरुद्ध मुद्दा दर्ता गरियो । युवक पक्राउ परेर जेल चलान गरिए ।

दुई वर्षपछि युवक जेलबाट छुटेर आएपछि फेरी त्यही युवतीसँग भेट गर्छन् । अनि दुबैमा प्रेम हुन्छ र उनीहरुले भागेर बिहा गर्छन ।

उनीहरुको एउटी छोरी जन्मिन्छिन् तर यसैबीचमा अदालतले युवकलाई युवतीलाई बलात्कार गरेको दोषी ठहर गर्छ ।

अब युवती भने छोरीको बुवा भएको भन्दै उनको श्रीमानलाई रिहा गरियोस् भन्दै गुहार लगाइरहेकी छिन् ।

त्यसो त यो पढ्दा कुनै चलचित्रको स्क्रिप्ट हो कि जस्तो लाग्छ । त्यसो त लेख्नेहरुले यो ‘वास्तविक कथा’लाई आफू अनुकूल नबनाएका होइनन् । तर वास्तविक कथा भने यो स्क्रिप्ट भन्दा निकै रोचक छ ।

एउटा कथा, जसमा अपराध छ, प्रेम छ, विछोड छ, घृणा छ र कानुनी दाउपेच छ ।

बिबिसी हिन्दीका लागि भूमिका रायले लेखेको यो आलेख सान्दर्भिक लागेर यहाँ अनुवाद गरिएको छ ।

कथा केही यस्तो छ…

भारतको पंजाब प्रान्तको मौजगढ निवासी सुखजिन्दर र नूरपूर निवासी पलबिन्दर दुबै अलग अलग गाउँमा हुर्किए तर उनीहरुको स्कूल एउटै थियो । यहीं उनीहरूबीच प्रेम बस्यो र उनीहरूले एकअर्कासँग केही वाचा समेत गरे ।

“उनी मलाई स्कूलदेखि नै प्रेम गर्थे, शुरुमा त मैले नाईं पनि भनेँ तर उनी यतिविधि माया गर्थे कि बिस्तारै मलाई पनि उनीसँग माया बस्यो ।”

अहिले दुई महिनाको बालिकाकी आमा सुखजिन्दर त्यतिबेला नौ कक्षामा पढ्थिन भने पलबिन्दर कक्षा एघारमा ।

दुई जना नाबालिकबीचको माया, तर मायामा विश्वास थियो । त्यसैको सहारामा सुखजिन्दरले सबैकुरा छोडेर पलबिन्दरको हात समातिन् ।

दुबै फरक फरक समुदायका थिए । सुखजिन्दर जट सिख हुन भने पलबिन्दर मजहबी सिख परिवारकी ।

 

 

“मेरो ठूलो परिवार थियो, आमा बुवा, ठूल्दाई तर परिवारको माया मैले पाईनँ । कुटपिट, गालीगलौज । यही हुन्थ्यो त्यो घरमा । एउटा पलबिन्दरले मात्रै थिए मलाई माया गर्ने ? त्यसैले मैले उनलाई साथ दिए र भागेँ आफ्नै इच्छाले ।”

पलबिन्दर र सुखजिन्दर भागेर जाने बेला दुबै नाबालिक थिए । सन २०१३ मा उनीहरु दुबै मोगाबाट भागेर दिल्ली आए । दिल्लीमा दुई महिना बस्न के पाएका थिए, युवतीको घरपरिवारले प्रहरीलाई खबर गऱ्यो ।

दुई महिनापछि दिल्ली प्रहरीले यो जोडीलाई समातेर आफूसँगै मोगा लिएर गयो । सुखजिन्दरका बुवाले पलबिन्दरविरुद्ध प्रहरीमा रिपोर्ट दर्ता गरे । सुखजिन्दरलाई गिरफ्तार गरियो ।

“म धेरै रोएँ, अब के हुन्छ भन्ने कुरा मैले चाल पाइसकेकी थिएँ” सुखजिन्दरले भनिन् ।

“मैले नचाहँदा नचाहँदै मेरो परिवारले जबर्जस्ती मलाई आफूसँग लगेर गए । म त पलबिन्दरसँगै बस्न चाहन्थे तर उनीहरुले पलबिन्दरविरुद्ध मुद्दा दर्ता गरे । मलाई कुटपीट गरे र धम्की दिए । अदालतमा पलबिन्दरले मलाई जबर्जस्ती भगाएर लगेको र बलात्कार गरेको बयान दिन लगाए ।”

यसपछि भने कथामा ट्विस्ट शुरु हुन्छ ।

जुन बेला पलबिन्दर र सुखजिन्दर घरबाट भागेका थिए, त्यतिबेला भने दुबै नाबालिग थिए । तर डिसेम्बर २०१३ मा पलबिन्दर पक्राउ पर्दा भने उनी १८ वर्ष पुगिसकेको थियो अर्थात् बालिक भइसकेका थिए ।

प्रहरी चौकीबाट अदालतमा मुद्दा पुगेपछि पलबिन्दरलाई जेल चलान गरियो ।

सुखजिन्दर भन्छिन्– प्रहरीका अगाडि त मैले त्यही भने, जे साँचो थियो । तर करिब पाँच महिनापछि सत्र न्यायालयको कार्वाही सुरु हुँदा हरेक सुनुवाई अघि मलाई कुटपिट गरिन्थ्यो, धम्काइन्थ्यो र अदालतमा के के भन्ने कुरा सिकाइन्थ्यो ।”

२२ महिनापछि सन् २०१६ मा पलबिन्दरलाई उच्च अदालतबाट जमानत पाइयो ।

पलबिन्दरले जमानत पाएर जेलबाट छुटेपछि सुखजिन्दरलाई सम्पर्क गरे ।

“मसँग पलबिन्दरको परिवारका मानिसहरुको नम्बर थियो । मैले उनीहरुलाई फोन गरेपछि हाम्रो कुराकानी फेरी शुरु भयो । हामीले एकअर्कासँग बिहे गर्ने फैसला गर्यौं । म एकपटक फेरी घरबाट भागेँ, तर यसपटक भने म बालिग थिएँ ।” उनले भनिन् ।

घरबाट भागेर दुबैले ४ जुलाई २०१७ मा एउटा स्थानीय गुरुद्वारामा बिहे गरे ।

दुबैको बिहे त भयो तर सुखजिन्दरका परिवारले उसलाई सधैंका लागि परित्याग गरेको घोषणा गरे ।

 

तर सुखजिन्दर खुसी थिइन्, ससुराको मृत्यु भइसकेको थियो, घरमा सासुआमा र एकजना नन्द थिइन् । दुई महिना अघि उनले एउटी छोरी जन्माइन् । परिवार पनि पूर्ण भएको थियो । तर गत जुलाई ११ का दिन सत्र न्यायालयको फैसला आयो । त्यही घटनामा जसलाई सुखजिन्दरका बुवा बीरसिंहले दर्ता गराएका थिए ।

सेसन कोर्टले पलबिन्दरलाई सात वर्षको सजाय र पाँच हजार रुपैयाँ जरिवानाको फैसला गऱ्यो । अदातले यो फैसला पलबिन्दरलाई बालिग मानेर गरेको थियो ।
सुखजिन्दरलाई भने अदालतको यो निर्णय मान्य छैन ।

 

“अब उनी मेरा पति हुन्, मेरी दुई महिनाकी छोरीका बाऊ। अब किन उनलाई जेल हाल्नुहुन्छ?” मानवीय मूल्यहरूको दुहाई दिँदै सुखजिन्दर भन्छिन्, “उनी बिना हाम्रो घर कसरी चल्न सक्छ ? अदालतले बुझ्नुपर्ने हो उनी राम्रा मान्छे हुन्, त्यही भएर त उनले यति हुँदाहुँदै पनि मसँग प्रेम गरे र बिहे पनि। उनले कहिल्यै जबर्जस्ती गरेनन्, हामी दुबै एकअर्कालाई माया गर्छौं, र त्यसबेला पनि गर्थ्यौं जब म उनीसँग भागेकी थिएँ।”

पलबिन्दरको मुद्दा हेरिरहेका अधिवक्ता एमएस रामुवालियाका अनुसार सुखविन्दरका बुवा वीर सिंहले ४ डिसेम्बर २०१३ मा पलविन्दर विरुद्ध आफ्नी छोरीलाई भगाएर लागेको र उसको बलात्कार गरेको भन्दै मुद्दा दायर गरेका थिए। त्यो बेला दुबै नाबालिक रहेका थिए। उक्त अभियोगपत्रमा पलविन्दरका साथै उनका आमा, बुवा र बहिनीलाई समेत दोषी मानिएको थियो।

अधिवक्ता रामुवालियाका अनुसार सुरुमा सत्र न्यायालयले पल्विन्दरलाई नाबालिक ठहराएको थियो तर पछि उसले आफ्नै फैसलालाई उल्ट्याउँदै पलविन्दर गिरफ्तार भएको दिन उनी १८ वर्ष एक महिनाका भैसकेका हुँदा उनीमाथि बालिकसरह मुद्दा चलाउने फैसला गरेको थियो।

अदालतले उनकी बहिनीलाई नाबालिक ठहऱ्याउँदै मुक्त गरिदिएको थियो भने उनका पिताको मुदा अवधिमै मृत्यु भैसकेको थियो। अन्तिम फैसला आउँदा उनकी आमा समेत आरोपमुक्त भएकी थिइन्।

पलविन्दरका वकिल रामुवालियाका अनुसार परिवारको तर्फबाट हेर्ने हो भने यो फैसला उनका लागि साह्रै गाह्रो छ। उक्त फैसला सुखजिन्दरलाई नाबालिक र पलविन्दरलाई बालिक मानेर आएको हो।

सुखजिन्दर भन्छिन् “घरमा रेखदेख गर्ने कोही नहुँदा साह्रै गाह्रो परेको छ।” उनका बुवा वीरसिंहका बारेमा सोध्दा उनले भनिन्, “म बुवाको नम्बर त दिन सक्छु तर वहाँसँग कुरा गर्न चाहन्नँ। तपाईं आफैँ बोल्नु होला।”

वीरसिंह अझै रुष्ट छन्। उनले अहिलेसम्म छोरीलाई माफ गरेका छैनन्। उनी भन्छन्, “मैले बिहे गरिदिएको होइन। म यो बिहे मान्दैनँ ।”

अब त यो कुरा पुरानो भइसक्यो। अब त त्यो तपाईंकी छोरीको परिवार भइसक्यो अझ पनि मुद्दा लिनु हुन्न ररु भन्ने प्रश्नको उत्तरमा उनी भन्छन्, “म कुनै पनि हालतमा मुद्दा फिर्ता लिन्नँ।”

उता सुखजिन्दर भने सधैँ एउटै कुरा गर्छिन्, “जब म आफैँ भन्दैछु मेरो बलात्कार भएको होइन भनेर, अरुले किन मेरो बलात्कार भएको हो भन्दै हिँड्ने। म आफ्नै खुसीले उनीसँग गएकी थिएँ। मलाई जबर्जस्ती बलात्कार पीडित घोषित गर्नु र मलाई प्रेम गर्ने मेरा पतिलाई बलात्कारी घोषित गर्नु कहाँको न्याय हो ?”

कमेन्ट गर्नुहोस्