उदयपुरमा जन्ति बोकेको बस दुर्घटना

त्रियुगा, असार ३२ । उदयपुरमा जन्ति बोकेको बस दुर्घटना भएको छ । जन्ति बोकेको भारतीय नम्बर प्लेटको बस त्रियुगा नगरपालिका- ६ मा आइतबार राती दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

भारतको फारमिसगन्जबाट जन्ती लिएर त्रियुगा नगरपालिका वडा नं. ६ जलजले आएको वि.आर. ११ ज. ४४२८ नम्बरको बस दुर्घटना हुँदा भारतिय नागरिक ३२ वर्षीय मनोज दासको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका दासको उपचारको क्रममा जिल्ला अस्पतालमा ज्यान गएको हो । घटनापछि फरार भएका बस चालकको खोजी भैरहेको एसपी भट्टले बताए । दुर्घटनामा सामान्य घाइते भएका अन्य यात्रुको जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

कमेन्ट गर्नुहोस्