६ दिनदेखि बेपत्ता किशोरीको हत्या

कञ्चनपुर, असार ३२ । छ दिनदेखि परिवारको सम्र्पकमा नरहेकी जिल्लाको कृष्णपुर नगरपालिका-८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार अत्तरिया बजारमा किनमेलका लागि गएकी थिइन् । सामान किनमेलमा गएकी छोरी सम्र्पकमा नआएपछि आइतबार परिवारका अन्य सदस्यले गुलरिया प्रहरीमा खबर गरेका थिए ।

खबरपछि खोजीकार्यमा खटिएको प्रहरीले मध्यरातमा विष्टको हत्या गरी क्षतविक्षत अवस्थामा कृष्णपुर नगरपालिका-२ लालझाडी-मोहना वन क्षेत्रको अम्खैया खोला नजिक फालेको अवस्थामा शव भेटाएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रमुख रमेशप्रसाद अवस्थीले विष्टको हत्या गरी फालिएको आशंका व्यक्त गर्नुभयो । उहाँले घटनाको संलग्नताको आरोपमा आइतबार साँझनै कृष्णपुर नगरपालिका-२ वाणीका मदन गिरीलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । प्रहरी स्रोतले विष्टको हत्या समूहकै संलग्नतामा भएको हुनसक्ने जनाएको छ ।

त्यसैगरी केही दिनअघि मात्रै कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलास्थित महाकाली नदीको तटबन्धमा पनि स्थानीयको जग्गा अधियाँ गरी काम गर्दै आएका दार्चुलाको लेकम गाउँपालिका-३ का ४५ वर्षीय नैनराम सार्कीको पनि शंकास्पद अवस्थामा शव भेटिएको थियो ।

उक्त घटनाको छानबिनका लागि प्रहरीले छानबिन समिति गठन गरे पनि घटनाबारे यथार्थ बाहिर ल्याउन सकेको छैन । सार्कीको टाउको र हातमा गहिरो चोट लागेको अवस्थामा शव फेला परेको थियो । -रासस

कमेन्ट गर्नुहोस्