डीन बिष्टलाई विश्वविद्यालको कार्यकारी परिषदबाट हटाउने निर्णय अदालतद्वारा खारेज

काठमाडौं, असार ३२ । सुदूर पश्चिमचल विश्वविद्यालयका शिक्षाशास्त्र संकायका डीन डा गोविन्दसिंह बिष्टलाई विश्वविद्यालको कार्यकारी परिषदबाट निष्काषित गर्ने निर्णय उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले खारेज गरि दिएको छ ।

कार्यकारी परिषदका सदस्यबाट बिष्टलाई गत माघमा लगातार तीनवटा बैठकमा अनुउपस्थित रहेको भन्दै निष्कासन गरिएको थियो।

त्यसपछि बिष्टले आफूलाई बैठकबारे औपचारिक जानकारी नदिएको, बैठक बस्नु भन्दा केही घण्टाअघि मात्र इमेलद्वारा सूचना दिने गरेको र आफ्नो कार्य क्षेत्र र विश्वविद्यालयको केन्द्रीय कार्यालय कच्चनपुरको भीमदत्त नगरमा हुँदाहुँदै काठमादौंमा बैठक गर्ने गरेको भन्दै आफूमाथि अन्याय भएको भन्दै रिट दायर गरेका थिए।

सोमबार रिटमाथि फैसला गर्दै उच्च अदालतको महेन्द्रनगर इजलासले बिष्टलाई निष्काशन गर्ने विश्वविद्यालयको निर्णय खारेज गरेको हो ।

मुख्य न्यायाधीश दिल्लीराज आचार्य र न्यायाधीश रामेश्वर तिवारीको संयुक्त इजलासले सबैलाई अनुकूल हुने गरी बैठक मिति र स्थान तोकनू र बैठक केन्द्रीय कार्यालय रहेको स्थान मै बस्ने व्यवस्था मिलाउनु भनेर आदेश गरेको छ।

रिट निवेदकका तर्फबाट अधिवक्ता यज्ञराज जोशी र निरंजन बिष्टले बहस गरेका थिए। विश्वविद्यालयको तर्फबाट सुप विश्वविद्यालयका कानूनी सल्लाहकार शंकर दुलालले बहस गरेका थिए।

अधिवक्ता यज्ञराज जोशी का अनुसार यसले बिष्टको पुनर्बहालीको बाटो खुलेको छ।

कमेन्ट गर्नुहोस्