आजदेखि टाइम कार्ड लागू

काठमाडौं, साउन १ । उपत्यकाभित्र टिपरको ठक्करबाट अत्यधिक दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरी महाशाखाले आजदेखि टाइम कार्ड लागू गर्ने भएको छ । पहिलो चरण अन्तर्गत कोटेश्वर-जगाती सडकखण्डमा टाइम कार्ड लागू हुने भएको हो । टाइम कार्ड लागू भएपछि दुर्घटना न्यूनीकरणसँगै ट्राफिक जाम अन्त्य हुने विश्वास लिएको छ ।

सुरक्षा योजना अन्तर्गत मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिने महाशाखाका एसएसपी वसन्तकुमार पन्तले बताए । एसएसपी पन्तका अनुसार टाइम कार्ड लागू भएपछि सो क्षेत्रमा ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधनले प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्नुपर्नेछ । यसअघि सो क्षेत्रमा ६० घन्टा प्रतिकिलोमिटर गुडाउन पाउने नियम थियो ।

महाशाखाको सुरक्षा योजनामा जगाते-कोटेश्वर सडक खण्डको बायाँ लेनमा मालबाहक र सार्वजनिक सवारीसाधन चल्नेछन् । यस्तै दायाँतर्फको लेनमा मोटरसाइकल, कार, ट्याक्सी, पर्यटकीय बस, कूटनीतिक नियोगका बस सञ्चालन गर्ने गरि योजना ल्याइएको महाशाखा बताउँछ । जगातीदेखि कोटेश्वरसम्म तीन स्थानमा चेकजाँच गरिने र समयभन्दा अघि पुगेको ट्रक–ट्रिपर चालकलाई कारवाही गरिने एसएसपी पन्त बताउँछन् ।

कोटेश्वर क्षेत्रमा दैनिक २ सय ५० देखि ३ सय टिपर-ट्रक चल्ने गरेको महाशाखाको रेकर्डले देखाउँछ । यस्तै गृहमन्त्रालयका अधिकारी सहितको बैठकले उपत्यकाको ट्राफिक व्यवस्थापन र दुर्घटनालाई न्युनीकरण गर्न बिहान ८ देखि १२ र साँझ ३ देखि ८ बजेसम्म टिपर तथा ट्रकलाई उपत्यकाभित्र प्रवेशमा रोकसमेत लगाएको छ ।

पछिल्लो दुई महिनामा मात्रै उपत्यकामा ट्रक र टिपरको ठक्करबाट मात्रै १६ जनाको मृत्यु भएको छ । यसमा अधिकांश दुर्घटना भक्तपुर-जगाती क्षेत्रमा भएको एसएसपी पन्त बताउँछन् । आर्थिक वर्ष ०७४-०७५का असार ३० गतेसम्म ४३ हजार ६ सय २३ टिपर, ट्रकलाई कारवाही गरिएको छ । एसएसपी पन्तले पछिल्लो समय टिपरले दुर्घटना बढाएको बताए । सुरक्षा योजना लागु भएपछि दुर्घटना न्युनीकरण हुने उनको दाबी छ ।

कमेन्ट गर्नुहोस्