एकै दिन बिक्यो ५ करोड बढी रोनाल्डो अंकित जर्सी

फुटबलर क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिड छोडेर सोमबारदेखि ‍औपचारिक रूपमा इटालियन क्लब युभेन्ट्समा आवद्ध भएका छन्। १० करोड ५० लाख युरो तिरेर रोनाल्डोलाई किनेको युभेन्ट्सले पहिलो दिन नै रोनाल्डो अंकित ५ लाख २० हजार वटा जर्सी बेचेको छ।

इटालीका सञ्चारमाध्यमका अनुसार युभेन्ट्सका एउटा आधिकारिक जर्सी १०४ युरोमा बिक्री हुन्छ भने तिनका प्रतिलिपीको ४५ युरो पर्छ। सन् २०१६ मा युभेन्ट्सका सबै खेलाडीका जर्सी जम्मा ८ लाख ५० हजारमात्र बिकेका थिए।

तर रोनाल्डोका सबै जर्सी प्रतिलिपी मात्रै बेचेको भए पनि युभेन्ट्सले पहिलो दिनमै ३ करोड ५८ लाख युरो कमाएको छ। यो रकम रोनाल्डोको अनुमानित वार्षिक पारिश्रमिक ६ करोड युरोको आधाभन्दा बढी हो। यदि यी सबै जर्सी आधिकारिक हुन् भने युभेन्ट्सको कमाइ ८ करोड २६ लाख युरो पुग्छ।

सोमबार रोनाल्डोलाई युभेन्ट्सले ट्युरिनमा सार्वजनिक गर्दा क्लबका धेरै प्रशंसकहरू ७ नम्बरको जर्सी लगाएर आएका थिए।

कमेन्ट गर्नुहोस्