कीर्तिमान धावक युसेन बोल्ट अब अस्ट्रेलियाबाट फुटबल खेल्ने

काठमाडौं, साउन १ । ओलिम्पिक्समा आठवटा स्वर्ण पदक जितेका र अनेक कीर्तिमान बनाएका जमैकाका धावक ‍युसेन बोल्टसँग फुटबल खेल्न परीक्षणका लागि वार्ता हुँदै गरेको अस्ट्रेलियाको एउटा क्लबले बताएको छ।

अस्ट्रेलियाको ए लिगमा सहभागी हुने सेन्ट्रल कोस्ट मरिनर्ससँग ६ साता लामो ट्रायलका लागि ३१ वर्षीय बोल्टको वार्ता हुँदै गरेको हो। मरिनर्सका प्रमुख कार्यकारी शन मीलक्याम्पका अनुसार उनको क्लबले बोल्टलाई ल्याउन चार महिनादेखि प्रयास गरिरहेको छ।

बोल्टसँग एउटा सिजनका लागि सम्झौता हुनसक्ने उनले बताए। फुटबल एजेन्ट टोनी र्‍यालिसका अनुसार सिद्धान्ततस् सम्झौता भइसकेको छ। बोल्टलाई दिइने पारिश्रमिकबारे वार्ता जारी रहेको उनले स्थानीय स्काई स्पोर्टस रेडिओलाई बताए।

‘सेन्ट्रल कोस्ट मरिनर्सका मालिकले पैसा खर्च गर्न मानेका छन् र बोल्टलाई तलबको ७० प्रतिशत दिने आश्वासन दिएका छन्,’ उनले भने। न्यूज कोर अस्ट्रेलियाले लाखौँ डलरको सम्झौता प्रस्तावित भएको विवरण प्रकाशित गरेको छ। यसअघि बोल्टले जर्मनी, नर्वे र दक्षिण अफ्रिकाका क्लबहरूमा अभ्यास गरेका छन्।

बोल्टले सय र दुई सय मिटरको धावनमा कीर्तिमान राखेका छन्। तर उनले गत वर्ष धावनबाट सन्न्यास लिए। व्यावसायिक फुटबल खेलाडी बन्ने आफ्नो इच्छा भएको उनले बताउँदै आएका छन्।

उनी म्यान्चेस्टर युनाइटेडका समर्थक हुन् । सो क्लबका भूतपूर्व सहायक प्रबन्धक माइक फेलान अहिले अस्ट्रेलियाली क्लब मरिनर्ससँग आबद्ध छन्।

‘सबै कुरा राम्रो भयो भने के थाहा, उनले यो सिजनको ए लिगलाई चम्काइदिन सक्छन्,’ मीलक्याम्पले स्थानीय सेभन नेटवर्कलाई बताए। उनका अनुसार बोल्टले जर्मन र नर्वेली क्लबहरूमा अभ्यास गर्दा राम्रो प्रदर्शन गरेको विवरण प्राप्त भएको छ।

‘सबैभन्दा महत्त्वपूर्ण कुरा त सबैभन्दा पहिला उनी कति राम्रा खेलाडी हुन् भन्ने हेर्नु नै हो,’ उनले भने, ‘उनी कुन स्तरमा छन् र ए लिगका लागि योग्य छन् कि छैनन् भन्ने समयले नै बताउनेछ।’ बीबीसी

कमेन्ट गर्नुहोस्