अचानक उत्तर प्रदेशमा २ घर भत्किए, ३० जना पुरिए

एजेन्सी, साउन २ । भारतको उत्तर प्रदेश राज्यको ग्रेटर नोएडा दुई वटा भवन भत्किँएका छन् । जसमा ३० मानिस थिचिएको आशंका गरिएको छ । अहिलेसम्म भवनले थिचेको अवस्थामा तीन जनाको शव निकालिएको भारतीय पत्रिका भास्कर दैनिकले उल्लेख गरेको छ ।

ग्रेटर नोएडाको शाह बेरी गाउँमा मंगलबार राति यो घटना घटेको थियो । भत्किएका भवनमा एउटा निर्माणाधीन भवन थियो भने अर्को दुई वर्षअघि निर्माण भैसकेको भवन थियो । अहिलेसम्म ती भवनमा कति मान्छे बस्थे भन्ने आधिकारिक जानकारी आएको छैन ।

उद्धारमा खटिएका अधिकारीले केही मानिसलाई भवनले थिचिएको हुन सक्ने बताएका छन् । उद्धार कार्यमा नेसनल डिसास्टर रेस्पोन्स टिम ‘एनडीआरएफ’ का दुई सय जना उद्धारकर्मी उद्धारमा जुटिरहेका छन् ।

भवन किन भत्कियो भन्ने केही कारण खुलेको छैन । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको जाँच गर्न आदेश दिएका छन् । त्यस्तै उप-मुख्यमन्त्री केशवप्रसाद मौर्यले भवन निर्माणमा कुनै कमजोरी भएको भए दोषीमाथि कडा कारबाही हुने बताएका छन् ।

कमेन्ट गर्नुहोस्