ओली सरकारमाथि कांग्रेसका १५ आरोप यस्ता छन्

काठमाडौँ, साउन २ । कांग्रेसले वर्तमान सरकारलाई अधिनायकवादी र जनविरोधीको संज्ञा दिँदै १५ वटा आरोप लगाएको छ । लोकतान्त्रिक संविधानको भावना र मर्मअनुसार सरकार नचलेको आरोप लगाउँदै कांग्रेसले संसद्देखि सडकसम्म खरो उत्रिने तयारी गरेको छ । सरकारले कानुनी शासनको खिल्ली उडाएको भन्दै ७७ वटै जिल्लाका सदरमुकाममा कांग्रेसले आगामी १५ साउनमा विरोध कार्यक्रम गर्ने घोषणा गरेको छ ।

केन्द्र एवं प्रदेश सरकारमा अधिनायकवादी र जनविरोधी क्रियाकलाप भएको भन्दै कांग्रेसले १५ साउनमा प्रत्येक जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने गरी तयारी गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ । सरकारका अधिनायकवादी र जनविरोधी क्रियाकलापविरुद्ध सक्रियताका साथ जनताबीच पुग्दै उक्त विरोध प्रदर्शनमा सहभागी गराउन कांग्रेसले जिल्ला कार्यसमितिसहित जिल्लाका भ्रातृ एवं शुभेच्छुक संस्था, क्षेत्र, गाउँनगर एकाइहरूलाई निर्देशन दिएको छ ।

ओली सरकारप्रति कांग्रेसका १५ आरोप यस्ता छन्-

-सभामुख र उपसभामुख अलग-अलग दलबाट हुनुपर्ने

-संघीय व्यवस्थाको भावनाविपरीत अधिकारहरूको केन्द्रीकरण गरिएको

-शक्ति पृथकीकरणको सिद्धान्तको खिल्ली उडाउँदै स्वतन्त्र न्यायालयप्रति आक्रामक रूपमा सरकार प्रस्तुत भएको

-संवैधानिक निकायलाई कार्यकारीको छायामा राख्ने

-सरकार र पार्टी एकैजस्तो गरेर सञ्चालन गर्ने

-कर्मचारीतन्त्र तथा सुरक्षा निकायहरूलाई व्यावसायिक रूपमा सञ्चालन गर्नुको सट्टा पार्टीप्रतिको प्रतिबद्धताका आधारमा चलाउने प्रवृत्ति

-कांग्रेसका सभापति प्रधानमन्त्री भएका वेला विधिसम्मत तरिकाबाट गरिएका नियुक्तिहरूलाई गैरकानुनी तरिकाबाट खारेज गरिएको

-तत्कालीन सरकारको ६५ वर्षमै वृद्धभत्ता दिने निर्णय खारेज गरेको

-मिर्गौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटुरोगका गम्भीर बिरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता दिने निर्णय खारेज गरेको

-भूकम्पपीडितलाई थप एक लाख राहत दिने निर्णय खारेज गरेको

-मूल्यवृद्धि अकासियो

-स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित पारियो

-निजी क्षेत्र तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रहरूले कानुन मान्दै आफ्ना क्रियाकलापलाई अगाडि बढाउन समस्या भएको

-स्वतन्त्रतामाथि बन्देज

-बाढीपहिरोबाट पीडित जनताका आवश्यकता र समस्याप्रति उदासीन

नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्