अर्जुन तेन्दुलकरले लिए पहिलो अन्तर्राष्ट्रिय विकेट

काठमाडौं, साउन २ । भारतीय क्रिकेट टिमका पूर्वकप्तान तथा महान् खेलाडी सचिन तेन्दुलकरका छोरा अर्जुनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय विकेट लिएका छन् । अर्जुनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा पहिलो विकेट श्रीलंकाविरूद्धको टेष्टमा लिएका हुन् ।

अर्जुनले श्रीलंकासँगको टेस्ट खेलमा कामिल मिसारालाई एलबीडब्ल्यू आउट गराउँदै पहिलो विकेट लिए। अर्जुनले खेलको तेस्रो ओभरमा विकेट लिएका हुन् । अर्जुनले यो खेलमा ११ ओभर बलिङ गर्दै २ मेडनसहित ३३ रन खर्चिएर १ विकेट लिए ।

प्रतियोगितामा हर्ष त्यागी र आयुश बदोनीले समान ४ ४ विकेट लिएका थिए । यो सँगै श्रीलंका पहिलो दिन २४४ रनमा अल आउट भयो। श्रीलंकाको जवाफी स्कोर पछ्याएको भारतले पहिलो दिनको खेल सकिँदा १ विकेट गुमाएर ९२ रनमा खेलिरहेको छ ।

१८ वर्षीय अर्जुन तिब्र बलिङका साथै ब्याटिङ पनि गर्छन् । अर्जुनको यो सफलतालाई सामाजिक सञ्जालमा धेरैले बधाई समेत दिएका छन्। भारतीय युवा क्रिकेट टिम पाँच एकदिवसीय र दुई टेस्ट म्याचका लागि श्रीलंकाको भ्रमणमा छ ।

कमेन्ट गर्नुहोस्