आज अनशनरत डा. केसीलाई काठमाडौँ ल्याइने

काठमाडौं, साउन ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौँ ल्याउने निर्णय गरेको छ । डा. केसी अनशनरत कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानले उनको उपचार अब आफूहरुले गर्न सक्ने अवस्थामा नरहेको बताए लगत्तै मंगलबार राति बसेको नेकपा सचिवालयको आकश्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

जुम्लामा २० दिनदेखि अनशनरत डा. केसीको जीवनरक्षाका लागि तत्कालै उनलाई सुविधासम्पन्न अस्पतालमा उपचारका लागि ल्याउने निर्णय गरेको हो। डा. केसीलाई काठमाडौँ ल्याउने र उनका माग बारे खुल्ला छलफल गर्ने निर्णय नेकपाले गरेको हो । चिकित्सा शिक्षा विधेयक अध्यायादेश अनुसार नै हुनु पर्नेसहितका माग गरेर डा. केसी अनशनमा छन् ।

वार्ताको प्रयास भएका छन् तर सहमति जुट्न सकेको छैन । डा. केसी पक्षले कर्मचारीको टोलीलाई पूर्ण अधिकार नभएको भन्दै बुधबार मन्त्रीस्तरमा मात्र वार्ता गर्ने बताएका थिए । बालुवाटारमा नेकपाको आकश्मिक बैठक बसेर डा. केसीको स्वास्थ्य अवस्थाबारे छलफल भएको र उनलाई काठमाडौँ ल्याउने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता श्रेष्ठ र शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतका नेता सहभागी बैठकले केसी समर्थकसँग त्यसबारे तत्काल समन्वय गर्ने निर्णय गरेको पनि गरेको छ।

डा. केसीलाई बिहीबार बिहान हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी छ । यसैबिच सरकारले केसीलाई ल्याउनेबारे औपचारिक जानकारी दिन र उनका माग बारे धारणा राख्न शिक्षा, विज्ञान तथा प्रविधि गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन गर्दैछन् ।

कमेन्ट गर्नुहोस्