डा. केसीको मागलाई समर्थन गर्दै चिकित्सक आन्दोलित, आकस्मिक सेवा बाहेक ठप्प

काठमाडौँ, साउन ३ । जुम्लामा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा माग र उनको मागलाई बेवास्ता गरेको भन्दै चिकित्सकले आजदेखि देशभरका सरकारी तथा निजी अस्पतालको आकश्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन् । डा. केसी अनशनको दिन लम्बिँदै जाँदा उनको स्वास्थ्य बिग्रिएको तर सरकार संवेनदशील नभएको भन्दै संघले बुधबार आन्दोलनको घोषणा गरेको थियो ।

त्यसमा सहमति जनाउँदै सरकारी चिकित्सक संघले आफ्ना अस्पतालमा आकश्मिक बाहेकका सेवामा संलग्न नहुने निर्णय गरेको अध्यक्ष डा. दिपेन्द्र पाण्डेले बताए । स्वास्थ्य संस्था हड्ताल गरेर आज १२ बजे माइतीघर मण्डलामा आउन संघले आह्वान गरेको छ ।

डा. श्रेष्ठले आज देशभरका सबै सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिकलगायतका सम्पूूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवाबाहेकका स्वास्थ्य सेवा बन्द गरेर चिकित्सकहरु माइतीघरमा भेला हुने जानकारी दिए । संघले डा. केसीका पक्षमा संघ जस्तोसुकै परिस्थितिको सामना गर्न पछि नहट्ने चेतावनी दिएको छ ।

संघका महासचिव डा. लोचन कार्कीले एकदिने बन्दमार्फत देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीको आवाज सरकारसम्म पुग्ने विश्वास लिएको र सरकार संवेदनशील नभएमा देशभर आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालसम्म बन्द गर्न बाध्य हुने बताए ।

कमेन्ट गर्नुहोस्