प्रधामन्त्री ओली भन्छन्,- ‘रेल चलेपछि धमाधम मिनरल वाटर निर्यात गर्छौं’

काठमाडौं, साउन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशलाई पहिलोपटक बिहीबार सम्बोधन गरे। दिउँसो १२ः४० बजे संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेतापनि उपस्थित सांसद, सर्वसाधारण, पत्रकार सबैलाई उनले साढे २ घण्टा कुराएपछि मात्र संसदमा उपस्थित भए।

बिहीबारको पहिलो संसद बैठकमा नै सम्बोधन गर्ने क्रममा उनले रेल र पानीजहाजका कुरा नै दोहोर्याए। गण्डकी प्रदेशको सम्भावनाको विषयमा बोल्ने अनुमान गरिएतापनि उनले अन्यत्रै बोलिसकेको कुरा गर्न सवा घण्टा खर्चिए। सम्बोधनको सुरुवाती क्रममा गण्डकी प्रदेशको प्रशंसा गरेतापनि रेल र पानीजहाजमा नै उनले जोड दिए।

रेललाई नै जोड दिएका ओलीले त्यसमा मिनिरल वाटरलाई जोडे। उनले भने, ‘हाम्रोमा बाहेक मिनरल वाटर कुनै देशमा बन्दैन। छानेको पानी मिनरल वाटर बन्छ ? उनले थपे–खोलामा बगेको पानी बोतलमा भरेर बेच्यो भने मात्रै देश धनी बन्छ। रेल चलाएपछि ल्याउने सामान अरु होला तर पठाउने वस्तु मिनरल वाटर हो।’

गण्डकी प्रदेश हिमालसँग जोडिएको र हिमालको पानी किटनाशक हुने हुँदा नेपालीले पानीलाई पनि बेच्न सकिनेमा उनले जोड दिए। पहराबाट मिनिरलसहितको पानी बग्ने भन्दै संसारमा नेपालको जस्तो पानी नपाइने दाबी गरे। ‘हामीले बोतलको पानी पिउन मजा मान्छौँ, तर लेकको पानी यत्तिकै पनि पिउन सकिन्छ, त्यसमा मिनरल पनि हुन्छ, उताबाट रेलले सामान लिएर आउँछ, यताबाट हामीले मिनरल वाटर पठाउन सक्छौँ’, उनले भने।

प्रधानमन्त्री ओलीले नेपालका हरेक बोट र हरेक ढुंगामा जडिबुटी रहेको भन्दै त्यसको प्रशोधन र ब्यापारमा सरकारले कार्यक्रम ल्याउने बताए। प्राकृतिक रुपमा भरिपूर्ण गण्डकी प्रदेशमा पर्यटन विकासको प्रचुर सम्भावना रहेकोले प्रदेश सरकारको चासो केन्द्रित हुनुपर्ने उनको सुझाव छ।

यस्तै बैठकलाई सम्बोधन गर्दै ओलीले आफुले दुई वर्ष अघि रेलको कुरा गर्दा मजाक बनाइएको भन्दै रेल चलाई छाड्ने दृढता व्यक्त गरे। ‘मैले रेलको कुरा गर्दा धेरैले मजाक बनाए। अरु देशले रेल चलाउन हुने नेपालले नहुने त्यस्तो पनि हुन्छरु’ उनले प्रश्न गरे, ‘नेपालमा रेल चल्छ। पूर्व पश्चिम रेल चलाइन्छ।’ रक्सौल-काठमाडौं रेल पूर्व सम्भाव्यता अध्ययन सुरु भइसकेको र छिमेकी मुलुक चीनले समेत आउँदो अगष्टबाट सम्भाव्यता अध्ययन सुरु गर्ने उनको भनाई छ। नागरिक दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्