पारस र हिमानी एकै ठाउँमा

काठमाडौं, साउन ४ । ‘मानिसको योग्यता र क्षमता यस्तो हतियार हो, जसले जिन्दगीमा अभाव र समस्याबाट मुक्ति दिलाउन सक्छ ।’ सोमबार साँझ पूर्वयुवराज्ञी हिमानी शाहले छोरी पूर्णिकासहित एउटा आकर्षक तस्बिर आफ्नो फेसबुक पेजमा अपलोड गर्दै यही स्टाटस पोष्ट गरिन् ।

तस्बिरमा आमा-छोरी नै होटलको सेफको पहिरनमा छन् । नेपालगन्जस्थित होटल सोल्टीको भान्सामा खिचिएको उक्त तस्बिरमा दुवै जनाको हातमा ‘इसेन्स अफ बेकिङ एन्ड पेस्ट्री’ पुस्तक पनि छ, अर्थात् हिमानी तथा पूर्णिका केक बनाउने तयारीमा छन् ।

प्राप्त जानकारीअनुसार पूर्वराजपरिवारका सदस्यहरूसहित पूर्वराजा ज्ञानेन्द्र अघिल्लो साता नेपालगन्ज पुगेका थिए । नेपालगन्ज पुगेपछि उनीहरू विमानस्थलबाट झन्डै तीन किलोमिटरको दूरीमा रहेको होटल सोल्टी पुगे । पूर्वराजा ज्ञानेन्द्रसँग पूर्वयुवराज पारस, युवराज्ञी हिमानी तथा छोरा–छोरीहरू पनि थिए ।

परिवारका सबै सदस्य होटल सोल्टीमै बसे पनि पारस भने सिद्धार्थ होटलमा सुतेको स्रोतले जनाएको छ । दुई रात बाहिरै सुतेपछि तेस्रो रातदेखि पारस पनि सोल्टी होटलमै आएर बसेको स्रोतले उल्लेख गरेको छ । यद्यपि सँगैको उक्त बसाइका क्रममा पारस र हिमानीबीच कस्तो सम्बन्ध रह्यो स्पष्ट हुन सकेको छैन । यसलाई छोरा–छोरीहरू सँगैको पारिवारिक यात्रा बताइए पनि यो हिमानी र पारसलाई जोड्ने प्रयास पनि हुनसक्ने तथ्यलाई अस्वीकार गर्न सकिँदैन । कान्तिपुर साप्ताहिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्