ठूला–ठूला चुनौतिमा नेतृत्वदायी भूमिका निभाएकोमा अमेरिकाद्वारा प्रचण्डको प्रशंसा

काठमाडौं, साउन ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी–टेप्लिजले भेट गरेकी छन् ।

राजदूत एलाइना शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा भेट गरेकी हुन । आफ्नो कार्यकाल सकेर फिर्ता हुन लागेकी टेप्लिजले अध्यक्ष प्रचण्डसँग बिदाई भेट गरेकी हुन ।

अध्यक्ष प्रचण्डले राजदूत टेप्लिजलाई भनिन्, ‘तपाईको कार्यकाल सफल भएको छ । नेपालको विकास र प्रगतिमा तपाईले खेलेको भूमिका सकारात्मक रह्यो ।’ अध्यक्षले नेपालको शान्ति प्रक्रिया र समग्र राजनीतिक स्थायीत्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव रहेको बताए ।

उनले नेपालको आर्थिक समृद्धिमा अमेरिकी सरकार र जनताको आगामी दिनमा पनि सहयोग र समर्थन रहने विश्वास व्यक्त गरे । नेपालको शान्ति प्रक्रिया विश्वका लागि मोडल भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

राजदूत टेप्लिजले नेपालको शान्ति प्रक्रिया लगायतका ठूला–ठूला चुनौतिहरुमा नेतृत्वदायी भूमिका खेल्नुभएका अध्यक्ष प्रचण्डको प्रशंसा गरिन । उनले नेपाल सुन्दर भएको बताउँदै राजनीतिक स्थिरतापछि देश आर्थिक समृद्धिमा जाने आधार तयार भएको उल्लेख गरिन ।

कमेन्ट गर्नुहोस्