भरतपुर महानगरको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

चितवन, साउन ४ । भरतपुर महानगर क्षेत्रभित्र पर्ने पूर्वपश्चिम राजमार्ग, भरतपुरको बाइपासरोड र नारायणगढ मुग्लिन सडकखण्डमा साउन पाँच गते शनिबार (भोलि) देखि तीनपांग्रे सवारीसाधन व्यवस्थापन गर्ने अडानबाट तत्कालका लागि भरतपुर महानगर पछाडि हटेको छ ।

भरतपुरमा रहेको इरिक्सा तथा अटो व्यवसायी समितिका पदाधिकारी लगायतले उच्च अदालत पाटन हेटौँडा इजलासमा भरतपुर महानगरको तीनपांग्रे सवारी व्यवस्थापन सम्बन्धी काम कारबाही तत्कालका लागि रोक्न निषेधाज्ञा माग गर्दै बिहीबार निवेदन दिएका थिए ।

निवेदनमाथि हेटौँडा इजलासमा न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यले बिहीबार नै निषेधाज्ञा उत्प्रेषण परमादेश जारी गरेपछि महानगर आफ्नो निर्णयबाट पछाडि हट्न बाध्य भएको हो । परमादेशमा साउन ७ गते सोमबारलाई अन्तरिम आदेश छलफलको लागि पेशी तोकिएको छ । सोमबारसम्म भरतपुर महानगरपालिकाको तीनपांग्रे व्यवस्थापन सम्बन्धी निर्णय कार्यान्वयन नगर्नु भनी परमादेशमा उल्लेख छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अदालतको आदेशको सम्मान गर्दै तत्कालको लागि तीनपांग्रे सवारी व्यवस्थापन सम्बन्धी काम कारबाही अगाडि नबढाइने बताइन । उनले अदालतको अहिलेको आदेश र बहस, छलफलपछि भोलिका दिनमा हुने फैसलाको आफूहरुले पूर्ण पालना गर्ने बताइन ।

भरतपुर महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, भरतपुर महानगरपालिकाको बजार व्यवस्थापन समितिलाई विपक्षी बनाएर निवेदन दिइएको छ ।

कमेन्ट गर्नुहोस्