डा. केसीका माग पूरा गराउन समर्थकद्वारा प्रदर्शनको तयारी

काठमाडौं, साउन ५ । अनशन बसेकै बेला जुम्लाबाट उठाएर ल्याएको तीन दिन बित्नै लाग्दा पनि सरकारले डा. गोविन्द केसीका माग पूरा गर्न चाँसो नदिएपछि केसीका समर्थकले आज काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् । डा. केसीको जीवनरक्षा र उनका मागहरुको सम्बोधनका लागि थप दबाव दिन आज माइतीघर मण्डलामा केसीका समर्थकले प्रदर्शन गर्ने भएका हुन् ।

त्रिवी शिक्षण अस्पतालमा आइसेकपछि लगातार अनसनरत डा केसीले औषधी लिन मानेका छैनन् । चिकित्सकहरुले डा केसीको स्वास्थ्य अवस्थामा थप जटिलता देखिएको बताइरहेका छन् । काठमाडौं ल्याएपछि वार्ताको वातावरण बन्छ भनेको सरकारले वार्ताका लागि चाँसो दिएको छैन ।

माइतीघरमा शनिबार मध्यान्ह १२ बजे प्राध्यापक, विश्लेषक, पूर्व प्रधान न्यायाधिश, पूर्व उपकुलपति, नेता, लेखक, कलाकार, पेशाकर्मीदेखि सर्वसाधारण जम्मा हुने भएका छन् । डा. केसीको समर्थनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, कल्याण श्रेष्ठ, अभिनेत्री मनिषा कोइराला, मानवअधिकारवादी नेता कृष्ण पहाडी उपस्थित हुने भएका छन् ।

त्यस्तै खगेन्द्र संग्रौला, डा. देवेन्द्रराज पाण्डे, केदारभक्त माथेमा, श्याम श्रेष्ठ, प्राध्यापक सुरेन्द्र लाभ लगायतका व्यक्तित्व तथा सर्वसाधारणहरू सहभागी भई ऐक्यबद्धता जनाउने कार्यक्रम रहेको छ। प्रदर्शनमा चिकित्सक, नर्स, कानुन व्यवसायी सम्मिलित विभिन्न संघसंस्थाले पनि शनिबार माइतिघरमा प्रदर्शन गर्ने भएका छन् । केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिवको अध्यक्षतामा टोली गठन गरेपनि टोलीलाई म्यान्डेट दिइएको छैन ।

कमेन्ट गर्नुहोस्