एकै परिवारका ४ जनाले सेतीमा हाम फाले, एकको उद्धार तीन बेपत्ता

डोटी, साउन ५ । जिल्लाको आदर्श गाँउपालिकाका एकै परिवारका चार जनाले सेती नदीमा हाम फालेका छन् । हाम फालेकामध्ये ६ वर्षीय सुनिल वोहरालाई सेती नदीमा माछा मार्दै गरेका मानबहादुर विकले बचाउन सफल भएका छन् भने अन्य तीन जना बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सेती नदीमा हाम फाल्नेमा बमबहादुर बोहराकी श्रीमतीसहित दुई छोरा र एक छोरी हुन् । बोहराकी २८ वर्षीया श्रीमती धौली बोहरा, १२ वर्षीया छोरी राधिका बोहरा, ८ वर्षीय छोरा सुरेन्द्र बोहरा र ६ वर्षीया छोरा सुनिल बोहराले सामूहिक सेती नदीमा हाम फालेको इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी सहायक निरीक्षक डबलबहादुर कठायतले जानकारी दिए ।

परिवारका चार सदस्यले सेती नदीमा सामूहिक रुपमा किन हाम फाले भन्ने विषयमा छानविन तथा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डिएसपी लालबहादुर धामीले बताए ।

जिल्ला प्रहरी कार्यालयले घटनासम्बन्धी अनुसन्धान र बेपत्ताको खोजी कार्य गरी रहेको जनाएको छ । घटनास्थल डोटीको तलारा र बैतडीको ढुंगाड क्षेत्रमाको सीमाक्षेत्रमा पर्दछ।

शनिबार धौलीका श्रीमान् बमबहादुर बोहरासहितको टोलीलाई जिल्ला प्रहरी कार्यालय बोलाइएको र उनको बयानपछि मात्र घटनाका बारेमा केही थप जानकारी खुल्न सक्ने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्