अनुचित माग पूरा गर्न सरकार तयार छैनः वरिष्ठ नेता नेपाल

भक्तपुर, साउन ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनुचित माग पूरा गर्न सरकार तयार नभएको बताएका छन् । शनिबार पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको विचार गोष्ठीमा वरिष्ठ नेता नेपालले यस्तो बताएका हुन् ।

बरिष्ठ नेता नेपालले भने, ‘सरकारका राम्रा कामको समर्थन गर्न र रचनात्मक सुझाव दिन आग्रह गरिन्छ तर अनुचित माग भने पूरा गर्नुपर्ने बाध्यतामा सरकार छैन।’ उनले सरकारलाई काम गर्न नदिन अनेक षडयन्त्र र गतिविधि भइरहेको आरोपसमेत लगाए । उनले भने, ‘नयाँ-नयाँ निहुँ खोजेर सरकारले गरेका राम्रा कामलाई रोक्ने प्रयास भइरहेको छ ।’

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष धु्रवराज विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपाका नेता रघुजी पन्त, केन्द्रीय सदस्य सोमप्रसाद मिश्र, दिलीप प्रजापति, नेकपा भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, जिल्ला संयोजक डिपी ढकाललगायतले पुष्पलालले कम्युनिष्ट पार्टी निर्माणमा खेलेको योगदानको चर्चा गरे ।

कमेन्ट गर्नुहोस्