किन विचलित हुन्छन् पृथ्वीराज अवस्थीहरू ?

कुनै समय प्रतिस्पर्धी उम्मेदवारहरूले पैसाको खोलो बगाएर प्रचार प्रसार गरिरहँदा एउटा उम्मेदवार प्रत्येक मतदातासँग ‘एक भोट र एक नोट’ माग्दै हिंड्थे । ती थिए बैतडी जिल्ला क्षेत्र नं. १ बाट २०३८ सालका राष्ट्रिय पंचायतका उम्मेदवार पृथ्वीराज अवस्थी । र उनी प्रतिस्पर्धा गर्दै थिए तत्कालीन राष्ट्रिय पंचायतका उपाध्यक्ष पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द ।

सुरुमा पृथ्वीराजको र पूर्वप्रधानमन्त्री चन्दको सम्बन्ध राम्रै थियो । तर उक्त चुनावमा जिल्लाका दुई निर्वाचन क्षेत्रमध्ये एउटाबाट आफूलाई उम्मेदवारी दिन अवस्थीले माग गरेपछि चन्दले होच्याउँदै भनेछन्- टिकट यो जुनीमा त खै अर्को जुनीका लागि सोच्नु होला ।

हक्की स्वभावका पृथ्वीराजलाई यस कुराले साह्रै घोच्यो र उनले स्रोत साधन सम्पन्न लोकेन्द्रबहादुर चन्द विरुद्ध उम्मेदवारी दिने फैसला गरे ।

हक्की स्वभावका पृथ्वीराजलाई यस कुराले साह्रै घोच्यो र उनले स्रोत साधन सम्पन्न लोकेन्द्रबहादुर चन्द विरुद्ध उम्मेदवारी दिने फैसला गरे । तर उनी थिए निर्धन परिवारबाट । उनले यस्तो जुक्ति निकाले जसबाट उनलाई मत दिनेहरूले आफ्नो मतको स्वामित्व समेत ग्रहण गरुन र जन्मियो ‘एक भोट र एक नोट’को नारा ।भनिन्छ निर्वाचनमा मतगणना हुँदा पृथ्वीराज अवस्थीले पाएका मतमा मतपत्रसँगै एक रुपैयाँको नोट समेत नत्थी गरेर राखिएको हुन्थ्यो । उनले २०४३ को चुनावमा समेत लोकेन्द्र बहादुर चन्द विरुद्ध उम्मेदवारी दिए र यसपटक उनका समर्थकहरूले उनका लागि बैंकमा खाता समेत खोलिदिए र त्यस खातामा चुनाव हुँदासम्म ९० हजार रुपैयाँ जम्मा भएको थियो । जुन उनको चुनाव खर्चमा प्रयोग भयो ।

आफ्नो तत्कालीन चुनाव चिन्ह लाल्टेनबाट ‘लाल्टेन बाजे’ नाम पाएका उनले दुबै चुनाव हारे तर उनले प्रधानमन्त्री भइसकेका लोकेन्द्रबहादुर चन्दलाई नजिकबाटै चुनौती दिइरहे । विद्रोही स्वभावका पृथ्वीराजलाई पंचायती व्यवस्थाको पतनपछि सोचे जस्तो राजनैतिक मंच प्राप्त भयो तत्कालीन नेकपा- एमालेको रूपमा ।

एमालेले पनि २०४८ को आम निर्वाचनमा उनको लोकप्रियतालाई देखेर उनलाई क्षेत्र नं. १ बाट पार्टीको आधिकारिक उम्मेदवारको रूपमा उभ्यायो । यसपालि पनि उनले जितेनन् । बैतडीका तीन ओटै निर्वाचन क्षेत्रबाट काँग्रेसले जीत हात पाऱ्यो । तर यसपालि पहिलो पल्ट पृथ्वीराजले आफ्ना चिर-प्रतिस्पर्धी लोकेन्द्रबहादुर चन्दभन्दा बढी भोट ल्याए ।

आज पर्यन्त बैतडीका दूरदराजका गाउँहरूमा त्यहाँ त्यहाँ  उनको आवश्यकता महसुस हुन्छ जहाँ जहाँ निमुखाहरूको अवाज पुग्नुपर्ने ठाउँसम्म पुगिरहेको हुँदैन ।

‘पृथ्वीराज बाजे’का नामले चिनिने पृथ्वीराज अवस्थी कुनै समय बैतडी जिल्लाका थोरैमात्र कम्युनिस्ट नेतामा एक थिए । उनले जिल्लामा तत्कालीन एमालेको जनाधार तयार पार्न डटेर काम पनि गरे । एमालेको तर्फबाट २०५१ मा पनि उनी उम्मेदवार थिए तर यस पटक फेरि लोकेन्द्रबहादुर चन्दद्वारा नै उनी पराजित भए ।

समय फेरि बदलियो । पृथ्वीराजलाई आफ्नो पार्टीभित्र मौलाउँदै गइरहेको स्वेच्छाचारिता, गुटबन्दी र षड्यन्त्रप्रति तीव्र असन्तोष थियो । उनले एमाले केन्द्रिय कार्यालयमा षड्यन्त्रकारी पार्टी नेता विरुद्ध कारवाहीको माग गर्दै निवेदन दिए । यस निवेदनप्रति दुई वर्षसम्म कुनै सुनुवाई भएन र ‘जाली र फटाहाहरूलाई कारवाही नहोउन्जेल’ पार्टीमा नबस्ने भन्दै तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई राजिनामा दिए ।

पृथ्वीराज त्यसपछि कहिल्यै पार्टीमा फर्केनन् र बैतडीमा एमालेका लागि टेक्ने ठाउँ बनाउने पृथ्वीराजको सन्चो बिसन्चोबारे एमालेले समेत केही बोलेको सुनिएन । तर पार्टीबाट अलग्गिए पनि पृथ्वीराज आफ्नो कर्ममा लागिरहे । समाजसेवा गर्ने र गरिब निमुखाको निम्ति अवाज उठाइदिने काममा उनी कहिल्यै पछि परेनन् ।

तर पृथ्वीराज त्यसपछि कहिल्यै पार्टीमा फर्केनन् र बैतडीमा एमालेका लागि टेक्ने ठाउँ बनाउने पृथ्वीराजको सन्चो बिसन्चोबारे एमालेले समेत केही बोलेको सुनिएन । तर पार्टीबाट अलग्गिए पनि पृथ्वीराज आफ्नो कर्ममा लागिरहे । समाजसेवा गर्ने र गरिब निमुखाको निम्ति अवाज उठाइदिने काममा उनी कहिल्यै पछि परेनन् ।

उनी लामो समय नागरिक समाज बैतडीको अगुवा भएर समेत रहे । तर सधैँ भेदभाव रहित र समतामूलक नयाँ समाजको सपना देख्ने अवस्थी भने नयाँ नेपालमा पनि तन्नम हालतमै छन् । उनी पछिल्लो समय धनगढीमा बसिराखेका छन् र ८१ वर्षको उमेरमा पनि उनमा उस्तै जुझारुपन भेटिन्छ ।

वयोवृद्ध पृथ्वीराजलाई देख्ने चिन्ने जो कोही पनि उनलाई जनस्तरमा भिजेको नेता मान्दछन् । उनको विगत संघर्षपूर्ण छ र त्यो संघर्ष आमजनताका पक्षमा र शासक वर्गका विपक्षमा थियो ।

अवस्थी नेपाली राजनीतिमा जनपक्षधरता र जनताप्रति निष्ठाका प्रतिनिधि पत्र हुन् । आज उनले हुर्काएको दलले उनलाई बिर्सिसकेको छ तर उनले आज पनि जनताको पक्षमा बोल्न छाडेका छैनन् । र यही ‘स्पिरिट’का कारण आज पर्यन्त बैतडीका दूरदराजका गाउँहरूमा त्यहाँ त्यहाँ  उनको आवश्यकता महसुस हुन्छ जहाँ जहाँ निमुखाहरूको अवाज पुग्नुपर्ने ठाउँसम्म पुगिरहेको हुँदैन ।

समानुपातिक सूचिको पहिलो नम्बरमा नाम भएपनि उक्त पार्टीले थ्रेसहोल्ड कटाउन नसक्दा उनी संसद बन्न सकेनन् ।

दोस्रो संविधानसभाताका उनी अखण्ड सुदूरपश्चिम पार्टीका केन्द्रिय सल्लाहकार रहे तर उक्त पार्टीका अगुवाहरू नै अन्य पार्टीहरूमा प्रवेश गरिसकेपछि सिद्धिएको उक्त पार्टीले समेत संसद भवन पुगेर नै जनताको पक्षमा आवाज उठाउने उनको सपना पुरा हुन सकेन । समानुपातिक सूचिको पहिलो नम्बरमा नाम भएपनि उक्त पार्टीले थ्रेसहोल्ड कटाउन नसक्दा उनी संसद बन्न सकेनन् ।

उनी अहिले राजनीतिदेखि विमुख छन् । यो अवस्था कसरी आयो त ? कसरी एउटा दलको निष्ठावान अभियन्ता आफूले निर्माण गरेको दलप्रति विमुख हुने स्थिति कसरी आयो ? सत्ताको मह काढिरहेको वामशक्ति कतै सीमित स्वार्थ समूहहरूको साँघुरो घेराभित्र आफ्नो विवेक कैद गरेर त बसेको छैन ? लाल्टेन बाजे अर्थात् पृथ्वीराज अवस्थी र उनीजस्ता नेपाली राजनीतिका प्रतिनिधि पात्र आफैंमा यस्ता तमाम प्रश्न हुन् जसको उत्तर समयचक्रमा कतै हराएको छ ।

 

कमेन्ट गर्नुहोस्