कुवेतबाट डाक्टर गोबिन्द केसीलाई पत्रः ‘प्रिय डाक्टर तिमिलाई राजनीतिको गोटी नबनाइयोस’

आदरणीय अनी प्रिय डाक्टर गोबिन्द केसी ज्यू,
कुवेतको मरुभुमीबाट नमस्ते अनी धेरै–धेरै सम्झना,

कुवेतको मरुभुमीमा पिल्सियको यो जीवनलाई आरामै छु भन्न बिबस भए जस्तै नेपाली दुःखी जनताहरुलाई सुलभ उपचार, सबैलाई सुलभ स्वास्थ्य तथा मेडिकल माफियाको अन्त्यको मागसहित भोक हड्तालमा बस्दाकै अवस्थामा दल–बलसहित जुम्लाबाट काठमाडौं शिक्षण अस्पातल पुर्याइएको तपाईको स्वास्थ्यको अवस्था कस्तो छ ? भन्न बिबस भएको छु। यतिका दिनसम्म अनि पटक–पटक जनाताकै स्वास्थ्य सेवा र सुबिधाका लागि भोक हड्ताल बस्दै आएको तिम्रो आफ्नै स्वास्थ्य अवस्था बिग्रिएको भन्ने खबरले अत्यान्तै चिन्तित छु।

‘अरबमा खरबको सपना’ देखेर खाडी पसेका हामी यतै दिनरात हाड–मासु खिइसक्दा पनि आफु र परिवार पाल्न धौ–धौमा परेर गुजरा चलाऊन गार्हो भएर यतै फसे जस्तै तपाईलाई पनि तपाईको बुढो शरीर अनि तपाईका जायज मागहरुप्रति बिगत र हालका सरकारले वा भनौ जुनसुकै सरकार आए पनि नसुनेकाले पटक–पटक भोक हड्ताल गर्दा कति गर्हो भैरहेको होला है ? कतै तपार्इलाई पनि हामी खाडीमै फसेको जस्तो नेपालका फोहोरी राजनीति गर्न पल्केका नेताहरुले फसाउने त होइनन ? मलाई भित्र–भित्र डर लाग्न थालेको छ।

प्रिय डाक्टर,
तपाई आँफै सोच्नुस् त आज सत्तामा बसेकाहरुले हिजो तिमीलाई अघि बढाएर तपाईका मागहरुलाई निहुँ बनाएर तपाईको नाममा सत्ताको लागि लुछा–चुडी गरेका थिए । तर उनीहरुले अहिले बल प्रयोग गरे।जुम्ला अस्पातलदेखि टिचिङ हुँदै नयाबानेश्वरसम्म हेर्नुु त तपाईकै नाममा सरकारपक्ष र प्रतिपक्ष ब्याडमिन्टन खेल्दैछन।

त्यसैगरी आज तपाईलाई बोकेर हिंड्ने वा भनौ तपाईका नाममा सत्ताको लागि मोल–मोलाई गर्नेहरु हिजो सत्तामा हुँदा तपाईलाई झुटो आवाश्वासनमा झुलाई राखे । नत उनीहरुले हुन्छ भनेर माग पुरा गरे, नत हुन्ननै भने, केबल जिब्रो चपार्इ रहे। त्यसैले प्रिय डाक्टर, ख्याल राखे्नुस् । तपाई त टिचिङ अस्पातलमा भोको पेटमा छटपटाइ रहनु भएको छ । तर तपाईको नाम बेचेर आफ्नो खल्ती भर्ने तपाईका दही चिउरे आसे–पासेहरुले तपाईलाई घात गर्न सक्छन।

“प्रिय डाक्टर तपाईलाई राजनीतिको गोटी नबनाइयोस” भनेर यत्र–तत्र हामी सबैले खबररदारी गरे पनि माफियाकै पक्षधर केही नेताहरु र केही राजनीतिक पार्टीहरु अनि तिनीहरुका कार्यकर्ताहरु तपाईकै नाममा राजनीति र सत्ताको मोल–मोलाई गरिरहेका छन।

तपाई त जनताको प्रिय डाक्टर, चाहे तरार्इ डुब्दा होस वा पहाडमा पहिरो जाँदा वा देशका दुर–दराजमा बिपत्ति पर्दा, तपाई माग्नेले झोला बोके जस्तो आँफै झोला भरी औषधी बोकेर जानुहुन्थ्यो । तपाईले न घाम भन्नु भयो न त पानी । कहीँ कतै आपत–बिपत आयो कि तपाई सिधैं गरीबकै बस्तीमा पुग्नुहुन्थ्यो ।

तर अब त तपाईको उमेर पनि ढ्ल्कदै गयो, शरीर पनि कमजोर छ र पनि जनताकै लागि भोक हड्तालमा हुनुहुन्छ । हेर्नुस त आज तपाईकै नाममा देश–बिदेशमा समर्थन भई रहदा नेपालका प्राय सरकारी अस्पातलका धेरै डाक्टरहरु तपाईको समर्थनमा सेवा ठप्प पारेर आफ्नो निजी अस्पातल र क्लिनिकहरुमा भिड बढाइ रहेका छन।

यता वीर अस्पातलमा खुट्टाको क्यान्सरको उपचार गराउन बैतडीबाट २ दिन बोकाएर अनि एक दिन बस चडेर आएकी एउटी भुल थरकी केटी जस्तै धेरै गरीब अनि रोगले छटपटार्इ रहेका जनताहरु आफ्नो रोगी शरीर काठमाडौंको खुल्ला आकाशलाई घर बनाएर गल्ली–गल्लीमा भोको पेटमा पोटुका बान्दै डाक्टरको आन्दोलन सकिएपछि उपचार गराउने आशामा घर फर्कने पैसा सक्दै भौतारी रहेका छन।

डाक्टर साप अब भन्नुस् तपाईको नाममा सबै सरकारी डाक्टरहरुले सेवानै ठप्प पारेर गरेको राजनीति र निजी अस्पातल सपार्ने र गरीब जनतालाई ‘खाए खा नखाए घिच’ भने जस्तै गरी निजी अस्पातलमै उपचार गराउन बाध्य बनाएर ऋण थपार्ने काम कहिले सम्म हुन्छ ?

चिठ्ठी लेख्दा–लेख्दै लामो भयो, प्रिय डाक्टर,
कृपया तपाईको नाम बेचेर दाम कमाउने अवस्था आउन नदिनुस् । धेरै रोगी गरीबहरुलाई निजी अस्पातलको बिल थमाउदै उनीहरुको गरीबीमा रमाउदै हिंड्ने मेडिकल माफियाहरुलाई समाप्त पार्न सबै ठाउँको स्वास्थ्य सेवा सुचारु गर्ने अवस्था बनाऔं । तपाईका मागहरु पुरा गराउन कुनै राजनैतिक पार्टी र कार्यकर्ता होइनन गाउँगाउँबाट आमा–बुवा, दाजु–भाइ, दिदी–बहिनीहरु सडकमा ओर्लन तयार छन।

तपाईका जायज मागहरुमा १ नम्बरमा एउटा अर्को माग थप्न म अनुरोध गर्दछु नेपालका सम्पूर्ण मेडिकल कलेजहरु राष्ट्रियकरण करण गरिनु पर्छ । पैसा हुनेले मात्र डाक्टर पढन पाउने होइन जो पढाईमा तीक्ष्ण र तेजिला छन उनीहरुले शक्ति र पहुँचका आधारमा होइन पढाई र लगनशिलताबाट डाक्टर पढ्न पाउनु पर्छ।

अन्तमा, प्रिय डाक्टर तपाई महान हुनुहुन्छ । र महान रहिरहनु हुनेछ । तर अरुको रिमोटमा चल्ने होइन आफ्नै अडानमा बस्नु होला । आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला । तपाई बाँचें मात्र तपाईले अरुलाई बचाउन सक्नुहुन्छ । तपाई हाँसे मात्र हामी हास्न पाउने छौं ।

तपाईको शुभचिन्तक
हरिकृष्ण न्यौपाने
कुवेतबाट

कमेन्ट गर्नुहोस्