क्यूबाको नयाँ संविधानमा हट्यो साम्यवाद, नीजि सम्पत्ति र समलैंगिक विवाहलाई मान्यता

हवाना, साउन ७ । सोभियत रुस र पूर्वी यूरोपमा समाजवादी सत्ता ढलेपछि साम्यवादको एक्लो संरक्षक देशका रुपमा चिनिएको क्यूबाले आफ्नो संविधानबाट ‘साम्यवाद निर्माण गर्ने’ भन्ने वाक्यांश हटाएको छ ।

पूँजिवादको धुरीका रुपमा परिचित अमेरिकासँग निर्मम ढंगले लडदै आएको छ क्यूबा । दक्षिण अमेरिकी देश क्यूबाले चौतर्फी प्रतिबन्ध झेल्दै आधा शताब्दीभन्दा बढी समयसम्म कम्युनिष्ट शासन चलाउँदै आएको हो ।


गत वर्ष क्यूबाली क्रान्तिका नायक फिडेल क्यास्त्रोको मृत्यु भएपछि क्यूबाको शासन राहुल क्यास्त्रोले सम्हालेका थिए । गत अप्रिलपछि भने मिगल डियाज क्यानलले देशका नेतृत्व गरेका छन् ।

साम्यवादलाई आफ्नो पदप्रदर्शक सिद्धान्तका रुपमा लिएपनि क्यूबाको नयाँ संविधानको मस्यौदामा भने यो शब्दलाई झिकिएको हो । यसको साटो उनीहरु समाजवादी सत्ता निर्माणको तत्कालिन कार्यनीति अघि सारेका छन् ।

माक्र्सवादी मान्यता अनुसार, सबै सम्पत्तिहरु राष्ट्रियकरण गरिएको क्यूबाले पहिलोपटक नीजि सम्पत्तिलाई समेत मान्यता दिने भएको छ । नयाँ संविधानको मस्यौदामा यो कुरा उल्लेख गरिएको हो ।

मस्यौदालाई संसदमा छलफलका लागि लगिने छ । कम्युनिष्ट पार्टीले तयार गरेको मस्यौदा संसदले पारित गरेपछि यसलाई जनमत संग्रहमा लगिने छ ।

अहिले तयार गरिएको मस्यौदाले समलिंगी विवाहलाई समेत कानुनी मान्यता दिने कुरा उल्लेख गरेको छ । तर, क्यूबाले यो परिवर्तनबाट मूल माक्र्सवादी मान्यताबाट भने विचलित नभएको दावी गरेको छ ।

राष्ट्रिय सभाका सभापति इस्टेबन लाजो भन्छन् ‘तर यसको अर्थ हामीले हाम्रो विचार त्यागेको भन्ने होइन । सोभियत संघको पतनसँगै क्यूबा पनि नयाँ युगतर्फ लम्केको छ । क्यूबाको यो सुधारलाई पूँजिवादी खेमामा भने स्वागत गरिएको रोइटर समाचार एजेन्सीले उल्लेख गरेको छ ।


नयाँ संविधानले राजनीतिक संरचनामा समेत फेरबदल गरेको छ । विगतमा एकल नेतृत्व रहँदै आएपनि अब भने सामूहिक नेतृत्व हुने छ । क्यूबामा ६० वर्षसम्म क्यास्त्रो परिवारले कम्युनिष्ट पार्टी र सरकारको नेतृत्व गर्दै आएका थिए । कम्युनिष्ट पार्टीको अध्यक्ष भने अहिले पनि राउल क्यास्त्रो नै रहेका छन । संविधान संशोधन आयोगका अध्यक्ष पनि राउल नै छन् ।

राष्ट्रपति कार्यकारी रहेको क्यूबामा नयाँ संविधान लागु भएपछि भने प्रधानमन्त्री पनि हुने गरी संशोधन गरिएको छ । कार्यकारी पद भने राष्ट्रपति नै रहने व्यवस्था संशोधित संविधानमा उल्लेख छ ।ह्वानाका एकजना प्रोफेसर अल्जुगारेका अनुसार, यो नयाँ संशोधन परिवर्तन नभएर समय अनुसार पुरानैको निरन्तरता हो । क्रान्तिपछि स्थापित भएका आधारभूत सिद्धान्तहरुलाई कायम रादै समय अनुसारको परिवर्तन गरिएको उनको तर्क छ ।

नयाँ संशोधनको मस्यौदाले मूलभूत सैद्धान्तिक अवधारणामा परिवर्तन नगरेको दावी गरेपनि नीजि सम्पत्तिलगायतका क्षेत्रमा गरिने नयाँ व्यवस्थाले भने क्यूबामा केही समयपछि चीनको जस्तो अवस्था सिर्जना हुने समेत केहीले टिप्पणी गरेका छन । त्यसो त पार्टीले यो मस्यौदा जारी गरेपनि संसदको सामना गरेर जनमत संग्रहबाट पारित गर्ने चुनौत भने सरकारका सामु रहेको छ ।

अमेरिकी उपनिवेशका विरुद्ध निर्मम संघर्ष गरेको क्यूबाले अमेरिकी नाकाबन्दीविरुद्ध संघर्ष गर्दै आफनो राजनीति र अर्थव्यवस्थालाई कायम राख्न सफल भएको छ । ल्याटिन अमेरिकामा वामपन्थलाई जीवित राख्न सफल क्यूबाकै प्रेरणास्वरुप भेनुजुएला, मेक्सिकोलगायतका देशमा उदार वामपन्थीहरु सत्तामा पुगेका छन् । नयाँ संविधानपछि अमेरिका र क्यूबाको सम्बन्ध के हुने भन्ने कुरा भने अझै पनि प्रतिक्षाको विषय नै रहेको छ ।

कमेन्ट गर्नुहोस्