काठको पोल तुरुन्त हटाउन ऊजामन्त्री पुनको निर्देशन

काठमाडौँ, साउन ७ । बिजुलीको नांगो तारका कारण देशव्यापीरुपमा नै नागरिकको अकालमा ज्यान जान थालेपछि सरकारले चासो व्यक्त गरेको छ । धादिङ, रामेछापलगायत देशका विभिन्न स्थानमा बिजुलीको नांगो तारले छोएर पछिल्ला दिनमा मात्रै चार जनाको ज्यान गएपछि सरकारले उक्त घटना दुःखद् रहेको भन्दै चासो व्यक्त गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नांगो तारका कारण नागरिकको अकालमा ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा त्यस्तो दुर्घटना दोहारिन नदिन र पीडित परिवारलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्नसमेत सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।

उक्त घटनाप्रति ध्यानाकर्षण जनाउँदै ऊर्जामन्त्री पुुनले आइतबार नै ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ, सामुदायिक विद्युत् उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवालीसँग छलफल गर्नुभएको छ ।

मन्त्री पुनले काठ र स्टिलका पोलका कारणले मानवीय क्षति बढिरहेको भन्दै तत्काल समस्याको समाधान गर्न निर्देशन दिनुभयो । मन्त्री पुनले विद्युतीकरणको सुरक्षाको पाटोलाई ध्यान दिन पनि आग्रह गर्नुभयो । विद्युतीकरणमा गुणस्तरहीन कामसमेत हुने गरेको उल्लेख गर्दै ऊर्जामन्त्री पुनले गुणस्तरयुक्त काम बनाउने दिशातर्फ ध्यान दिन पनि निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले काठको पोल प्रयोग गरेको कारण भएका मानवीय क्षतिलाई कम गर्न र देशभर काठका पोल विस्थापित गर्न मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने जानकारीसमेत दिनुभयो । छलफलमा सहभागीहरुले आ-आफ्नोतर्फबाट विषयको गम्भीरतालाई मूल्यांकन गरी काम गर्ने र दुर्घटनाबाट जोगाउने प्रतिबद्धता जनाउनुभएको थियो । -रासस

कमेन्ट गर्नुहोस्