असोज १ मा नेपाल-चीन संयुक्त सैन्य अभ्यास

काठमाडौं, साउन ७ ।  नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करण असोज १ देखि १२ गतेसम्म चीनको छेन्दूमा हुने भएको छ। गत वर्ष नेपालमा भएको संयुक्त सैन्य अभ्यासको दोस्रो संस्करण चीनको सिचुवान प्रान्तको छेन्दूमा हुने भएको हो।

संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा १६ जना सैनिक अधिकारीको सहभागिता हुने सैनिक स्रोतले बताएको छ। गत वर्ष वैशाखमा भएको संयुक्त सैन्य अभ्यास यसपटक सरकार गठन र त्यसपछि लगत्तै भएको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका कारण केही ढिलाइ भएको थियो।

प्रधानमन्त्री ओलीको भ्रमणपछि संयुक्त सैन्य अभ्यास गर्नेमा दुवै मुलुकका रक्षा मन्त्रालय सहमत भएका थिए। प्रधानमन्त्री ओली र त्यसलगत्तै प्रधानसेनापति राजेन्द्र क्षत्रीको चीन भ्रमणले संयुक्त सैन्य अभ्यासको टुंगो लगाएको हो।

प्रधानसेनापति क्षत्री चीन भ्रमणमा गएका बेला त्यहाँका रक्षामन्त्री र सेना प्रमुखसँग समेत संयुक्त सैन्य अभ्यासलगायत द्विपक्षीय हितका विषयमा छलफल गरेका थिए। संयुक्त सैन्य अभ्यासको मिति तय भएसँग दुवै मुुलुकका सैनिक अधिकारी त्यसको तयारीमा जुटेका छन्। नेपाली सेनाले संयुक्त सैन्य अभ्यासमा सहभागी हुने सैनिक अधिकारीलाई विभिन्न विषयमा तालिम दिइरहेको छ।

गत वर्ष वैशाख ३ देखि १२ गतेसम्म महाराजगन्जस्थित विशेष बाहिनीमा दुई देशका विशेष सेनाले सैन्य अभ्यास गरेका थिए। आतंकवादबाट उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई दृष्टिगत गरी दुवै देशका विशेष सेनाले गत वर्ष पहिलो पटक संयुक्त सैन्य अभ्यास गरेका थिए। दोस्रो संस्करणमा समेत नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला र विपद् व्यवस्थापनलगायतमा केन्द्रित हुने छ। -अन्नपूर्णमा खबर छ ।

कमेन्ट गर्नुहोस्