पूर्वराष्ट्रपति यादव भन्छन्,-‘मुख्य नेताले मधेसलाई बुझेनन्’

काठमाडौं, साउन ७ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुख्य राजनीतिक दलका नेताले मधेस बुझ्न नसक्दा अहिलेसम्म संविधानमा देखिएको समस्या समाधान हुन नसकेको बताएका छन् । कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६औँ स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले मधेसको समस्या समाधानप्रति नेताहरू गम्भीर नभएको बताएका हुन् ।

‘संविधानसभाबाट संविधान जारी गर्ने वेलामा मधेसको समस्या समाधान गर्न सम्झाएको थिएँ,’ यादवले भने, ‘त्यतिवेला मधेसको समस्या समाधान गर्नुस् भन्दा मलाई अरूको इसारामा चलेको समेत आरोप लगाइयो । अहिले त्यसवेलाको परिस्थिति नबुझ्दा दलहरूले संविधानका विषयमा झमेला बेहोरिरहेका छन् ।’

तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालालाई आफूले जति सम्झाउँदा पनि नबुझेको गुनासो उनले गरे । संविधानसभाले संविधान जारी गर्नु खुसीको कुरा भए पनि जारी गर्दाको समयमा होस नपुर्याउँदा केही गल्ती भएको उनको भनाइ थियो ।

जनप्रतिनिधिले जारी गरेको पहिलो संविधान सार्वजनिक गर्न पाउँदा आफूलाई निकै खुसी लागेको उनले बताए । मुलुकलाई संघीयतामा लैजाँदा बनाइएका ७ प्रदेश पनि वैज्ञानिक ढंगले निर्माण नगरिएको भन्दै उनले असन्तुष्टिसमेत व्यक्त गरे । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्