देउवा भन्छन्,-‘पञ्चायत र राणासँग लड्यौँ, अब कम्युनिस्टसँग लड्छौँ’

काठमाडौं, ७ साउन । कांग्रेसले पञ्चायत र राणासँग लडेर प्रजातन्त्र ल्याएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वसत्तावाद लाद्न उद्यत कम्युनिस्टसँग पनि लड्ने बताए । अहिले निषेधित क्षेत्र तोक्ने, शान्तिपूर्ण आन्दोलन गर्न नदिने कम्युनिस्टहरूले बोल्न, लेख्नसमेत नदिने दिन आउन सक्ने बताए ।

देउवाले शान्तिपूर्ण आन्दोलन गर्न नपाउने गरी हस्तक्षेप गर्दै निषेधित क्षेत्र तोक्ने कम्युनिस्ट सरकार कहिल्यै प्रजातन्त्रवादी बन्न नसक्ने आरोप लगाएका छन् । कांग्रेसका संस्थापक बिपी कोइरालाको ३६औँ स्मृति दिवसका अवसरमा आइतबार केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले यस्तो आरोप लगाएका हुन् ।

‘बिपी कम्युनिस्टसँग मिल्नै हुन्न भन्नुहुन्थ्यो । पहिलोपटक शान्तिपूर्ण प्रदर्शनसमेत गर्न नदिने कम्युनिस्टहरू सर्वसत्तावादी शासन लाद्न उद्यत छन्,’ देउवाले भने, ‘बिपीले कम्युनिस्टहरूलाई उसैवेला चिन्नुभएको रहेछ, हामीले अहिल्यै कम्युनिस्टलाई चिन्यौँ । उनीहरू कहिल्यै प्रजातन्त्रवादी हुन सक्दैनन् ।’ नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्