आज मौसम कहाँ कस्तो ?

काठमाडौँ, साउन ७ । आज देशभरको मौसम सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वदेखि पश्चिमसम्म सबै क्षेत्रमा बदली भई हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् ।

काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रमा पनि बदली हुने र हल्कादेखि मध्यम पानी पर्ने सम्भावना छ । आइतबारको तुलनामा मनसुनी गतिविधि केही कमजोर देखिएको भए पनि मौसम खुल्ने सम्भावना भने छैन ।

केहीबेर खुलेको जस्तो भए पनि फेरि बदली भइ पानी पर्ने सम्भावना छ । यस्तै रातिको समयमा विशेष गरी पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना पनि रहेको मौसमविद नगरकोटीले जानकारी दिइन् । तर हावाहुरीको सम्भावना भने कमै रहेको उनले बताएकी छन् ।

कमेन्ट गर्नुहोस्