डा. केसीबारे प्रचण्डले मुख खोले – ‘डा. केसीलाई वैतरणी बनाएर राजनीतिक भूमरी बनाउने कसरत’

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले डा. गोविन्द केसीलाई उपयोग गरेर राजनीतिक अस्थिरता फैलाउन खोजिएको बताएका छन् ।

अनसनलाई केहीले राजनीतिक वैतरणी तर्ने माध्यम बनाएको बताउँदै प्रचण्डले अनसनलाई राजनीतिक भूमरी तयार पार्ने कोशिसका रुपमा चित्रण गरे । ‘एकाध व्यक्तिका अनसनलाई राजनीतिक वैतरणी तर्ने माध्यमका रूपमा लिने र बडो विचित्रसँग राजनीतिक भूमरी तयार पार्ने कसरत भइरहेको छ,’ प्रचण्डले भने, ‘ उहाँको जीवन रक्षा पनि गर्न नदिने, वार्ता गर्न पनि नदिने, सरकारी डाक्टरलाई स्वास्थ्य परीक्षण पनि गर्न नदिने, वार्तामा लेनदेन पनि नगर्ने, एउटै कुरा अध्यादेश जस्ताको त्यस्तै ल्याएर मात्र मान्छौं। उनीहरू समस्या समाधानतिर होइन। के गरी समस्यालाई विकराल रूप दिन सकिन्छ र अराजकता फैलाइराख्न सकिन्छ। त्यसैमा केन्द्रीत छन्।’

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले शिक्षा क्षेत्रमा सुधार गर्ने बजेट र लगानी अभिवृद्धि गर्ने वैज्ञानिक र प्राविधिक शिक्षामा बढी प्राथमिकता दिने भनिरहेका बेला केसीको अनसनलाई माध्यम बनाएर अस्थिरता निम्त्याउन खोजेको उनको जिकिर थियो ।

समग्र स्वास्थ्यसेवा र शिक्षाको नीजिकरणको मागका बारेमा टिप्पणी गर्दै प्रचण्डले सरकारीकरणले मात्रै सबै कुरा पुरा नहुने समेत बताए । ‘गोविन्द केसीसँग सम्बन्धित विषय होस् चाहे माथेमा आयोगको प्रतिवेदनसँग सम्बन्धित विषय होस्। निजी अस्पतालसँग सम्बन्धित होस् वा समग्र शिक्षा नीतिको विषय होस्।

राष्ट्रियकरण गरेपछि सबै समस्याको रामवाण त्यही हो कि भने जसरी पनि चर्चा चलेको छ,’ दाहालले भने,‘तर त्यो सत्य होइन। किनभने संविधानले नै के परिकल्पना गरेको छ भने निजी, सार्वजनिक र सहकारी क्षेत्रको संयोजनबाट देशको समग्र अर्थतन्त्र र सामाजिक प्रणालीलाई अगाडि बढाउने प्रतिवद्धता गरेको छ। हामी सम्पूर्ण रूपले निजी क्षेत्रलाई उन्मुलन गर्न सक्दैनौं।’

लोकतन्त्रको अभ्यासमा रहेको बेला एकाध जना व्यक्तिले भनेको आधारमा हिँडने हो भने निर्वाचन र अन्य कुरा किन चाहियो भन्दै प्रतिप्रश्न गरे । “यदि एकाध मान्छेले जे भन्यो त्यही गर्ने हो भने किन चाहियो निर्वाचनको नाटक, किन चाहियो संविधान, किन चाहियो प्रतिनिधि, प्रदेश सभा र स्थानीय तहरु,’ उनले भने, ‘तिनको वैधानिकतामाथि प्रश्न उठाउने होइन तिनकै प्रक्रिया भित्रबाट समाधान निकाल्नु लोकतान्त्रिक हो।’

उनले नेपाल स्थिरता र समृद्धि नहोस् भन्ने चाहना राख्नेले वर्गले धमिलो पानीमा माछा मार्ने पुरानै प्रवृत्ति र तरिका अपाउन खोजिएकाले त्यसलाई सामूहिक रूपले परास्त गर्नुपर्ने पनि उल्लेख गरे।

कमेन्ट गर्नुहोस्