डा. केसीको समर्थनमा हुने कार्यक्रममा राजनीतिक दलका ब्यानर प्रतिबन्धित

धनगढी, साउन ७ । स्वास्थ्य शिक्षासँग सम्बन्धित विभिन्न मागहरू राखेर पन्ध्रौँ पटक अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा भएको प्रदर्शन प्रतिपक्षको इबी साँध्ने साधन बनेको भन्दै सरकार पक्षले आरोप लगाइरहेका बेला धनगढीमा भने यस्ता कार्यक्रममा पार्टीका ब्यानर प्रदर्शन गर्न रोक लगाइएको छ ।

स्वतः स्फूर्त युवा समूह धनगढीले डाक्टर केसीले सहज र सुलभ स्वास्थ्य सेवाको माग राख्दै पन्ध्रौँ पटक अनसनरत रहेको र हाल उनको अनसन चौथो हप्तामा रहेकाले सरकारलाई डाक्टर केसीका माग अविलम्ब सम्बोधन गर्न दबाब दिन एउटा आम भेला बोलाइएको छ ।

सम्पूर्ण नागरिक समाज तथा संघ संस्थाहरूलाई आआफ्ना ब्यानर सहित साउन ९ गते बुधवार साँझ ६ बजे स्थानीय पार्क मोडमा उपस्थित हुन सम्प्रेषित निमन्त्रणा पत्रमा राजनीतिक दलका ब्यानर नल्याउन आग्रह गरिएको हो । निमन्त्रण पत्रमा यो नागरिक दबाब कार्यक्रम भएकाले राजनीतिक ब्यानर नल्याउन अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्