घटनास्थल नपुगेरै फर्कियो छानबिन टोली

जुम्ला, साउन ७ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको घटनाको छानबिन गर्न जुम्ला पुगेको छानबिन टोली घटनास्थल नपुगेरै फर्किएको छ ।
प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसीलाई सरकारले जबरजस्ती काडमाडौं लैजाँदा भएको घटनाको छानबिन गर्न उक्त टोली डिआइजीको नेतृत्वमा आइतबार दिउँसो जुम्ला पुगेको थियो ।

अस्पतामा के भएको थियो भन्ने छानबिन गर्न नेपाल प्रहरीका डिआइजी सुरेन्द्र विक्रम शाह, एसपी केदार रजौरे र डिएसपी चुडामणि बुढाथोकीको तीन सदस्यीय छानबिन टोली जुम्ला पुगेपनि सरोकारवाला कसैसँग पनि नभेटेरै फर्किएको छ ।
आइतबार दिउँसो जुम्ला पुगेको टोली अस्पताल, नागरिक समाज, स्थानीय र पत्रकारहरुसँग भेटघाट नै नगरी फिर्ता भएको हो । सोमबार दिउँसो उनीहरू जुम्लाबाट फिर्ता भएका हुन् ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रभित्र प्रहरीले बल प्रयोग गरेको घटनालाई लुकाइ छिपाइ गर्नका लागि उनीहरु कसैसँग पनि छलफल नगरेको हुन सक्ने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए ।
महतलाई उद्धृत गर्दै कन्तिउर लेख्दछ, ‘छानबिन टोली जुम्ला पुगेको छ भन्ने मात्रै सुन्यौं’ उनले भने, ‘हामीसँग भेटघाट भएन । उनीहरु किन आएका हुन् । कोसँग भेटघाट गरे भन्ने थाहा भएन ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि छानबिनका लागि कुनै टोली नआएको अस्पताल प्रशासनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्