उप क्षेत्रीयदेखि जिल्लासम्मका ७७ वटा विकास समिति खारेज

काठमाडौं- सरकारले अञ्चल, उपक्षेत्रिय र जिल्ला अस्पतालमा रहेका ७७ वटा विकास समिति खारेज गरेको छ।

मन्त्रीपरिषदको असार ३२ गतेको बैठकले ७७ वटा अस्पताल विकास समिति खारेजको निर्णय गरेको हो। बैठकले विकास समिति गठन आदेश, अस्पताल व्यवस्थापन समिति कार्यविधि २०७३ र स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०७१ विघटन तथा खारेज गर्ने निर्णय गरेको हो।

मन्त्रीपरिषदको निर्णय कार्यान्वयन ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन ६ गतेको सचिवस्तरिय निर्णय समेत गरेको छ।

खारेज भएका विकास समिति, कार्यविधि र निर्देशिकाबाट सञ्चालन भएका स्वास्थ्य संस्थाहरुको सञ्चालन तथा व्यवस्थापन, विकास समिति तर्फका कर्मचारीहरुको व्यवस्थापन र स्वास्थ्य सेवा प्रवाह सम्बन्धी कार्य सम्बन्धित प्रदेश तथा स्थानीय तहबाट हुने र विघटित समितिहरुको नाममा रहेको चल अचल सम्पत्ति प्रदेश तथा स्थानीय तहले तोकेको नियकालाई हस्तान्तरण गर्ने निर्णय भएको छ।

यसका साथै विघटन तथा खारेज भएका स्वास्थ्य संस्थामा मनोनय वा नियुक्त भएका पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन्। सरकारले यस्ता पदाधिकारी जिम्मा रहेको संस्थाको अभिलेख तथा सम्पत्ति सम्बन्धित स्वास्थ्य संस्थालाई बरबुझारथ गर्न पनि निर्देशन दिएको छ।

कमेन्ट गर्नुहोस्