मेट्रो रेलको काम अगाडि बढ्यो

काठमाडौं, साउन ८ । लगानी बोर्डले नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न ६ कम्पनी छनौट गर्ने अन्तिम तयारी गरेको छ । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले अहिले बोर्डले विभिन्न कम्पनीका आशयपत्रमाथि मुल्यांकन गरीरहेको बताए । ‘हामीले ग्लोबल टेन्डरमार्फत नागढुंगा-धुलिखेल खण्डमा मेट्रो रेल संचालनका लागि डिपिआर तयार पार्ने कम्पनीको आशयपत्र माग गरेका थियौँ । बोर्डमा परेका त्यही आशयपत्रमाथि मुल्यांकन भैरहेको छ । यो अन्तिम चरणमा पुगिसकेको छ,’ उनले भने ।

३७ किलोमिटर लामो यस खण्डको डिपिआर तयार पार्न विभिन्न देशका २३ आशयपत्र परेको र त्यसमध्ये ६ वटा छनौट गर्न अन्तिम चरणमा पुगेको उहाँले बताए । २०७५ बैशाख १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको बैठकले काठमाडौं उपत्यकाको रुट नम्बर २ मा मेट्रो रेलको सम्भाव्यता अध्ययनको आशयपत्रसम्बन्धी प्रस्ताव स्वीकृत गरेसँगै यो प्रकृया सुरु भएको बोर्डले जनाएको छ ।

काठमाडौंमा मेट्रो संचालनका लागि रुट-२ मा नागढुंगा-कलंकी-कोटेश्वर-धुलिखेलसम्मको रुट पर्दछ ।बोर्डले आशयपत्रका लागि जेठ पहिलो साता विश्वव्यापी बोलपत्र आह्वान गरेको थियो । बोर्डले ३० दिनको म्याद राखी त्यस अवधिभित्र इच्छुक कम्पनीहरुलाई आशयपत्र प्रस्ताव पेश गर्ने गरी बोलपत्र आह्वान गरेको हो । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्