उत्तर कोरिया परमाणु परीक्षणस्थल नष्ट पार्दै

बीबीसी । उत्तर कोरियाले परमाणु परीक्षणस्थलको केही भाग नष्ट पार्ने काम सुरु गरेको छ । उत्तर कोरियाको उत्तर पश्चिमका भूभागमा रहेको रकेट परीक्षण स्थल नष्ट गर्न थालिएको बीबीसीले जनाएको छ ।

प्योङयाङले गएको जुन महिनामा अमेरिकासँग रकेट परीक्षण स्थल नष्ट गर्ने बाचा गरेको थियो । अमेरिकाको निरीक्षण समूह ‘३८ उत्तर’ भूउपग्रह तस्बिरका अनुसार उत्तर पश्चिमका केही रकेट परीक्षण स्थलको केही भूभाग नष्ट गरेको देखिएको छ ।

गएको महिना सिंगापुरमा भएको ऐतिहासिक शिखर बैठकमा राष्ट्रपति ट्रम्प र किमद्वारा कोरियाली प्राय द्वीपमा परमाणु निशस्त्रीकरण गर्ने सहमति भएको थियो । यसअघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँगको सम्बन्धमा प्रगति भैरहेको पनि राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिएका थिए ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्तापछि भएको प्रगतिबाट आफू ‘अत्यन्त खुशी’ भएको बताएका थिए । अवस्था जे जसरी अगाडि बढीरहेको छ, त्यसले आफूलाई सन्तुष्ट पनि बनाएको राष्ट्रपति ट्रम्पले भनेका थिए ।

प्योङयाङले गएको नौ महिनादेखि नै क्षेप्यास्त्र प्रक्षेपण अथवा पारमाणविक परीक्षणमा रोक लगाएको छ । यसअघि गएको मे महिनामा प्योङयाङले आफ्नो एकमात्र पारमाणविक परीक्षणस्थलमा रहेका सुरुङहरू विस्फोट गरी नष्ट पारेका विवरण पनि सार्वजनिक गरेको थियो ।

कमेन्ट गर्नुहोस्