बक्स अफिसमा ‘धडक’ काे धमाका

काठमाडौँ । २० जुलाईमा रिलिज भएको बलिउड चलचित्र ‘धडक’ले घरेलु बक्स अफिसमा आक्रामक व्यापार गरिराखेको छ । नयाँ कलाकार जान्हवी कपूर र इशान खट्टरको अभिनय रहेको उक्त चलचित्रले रिलिज भएको चार दिनमा ३९.१९ करोड भारतीय रुपैयाँ कमाइसकेको छ ।

जम्मा ३० करोड भारतीय रुपैयाँको लागतमा बनेको यस चलचित्रको प्रचारप्रसारमा १० करोड भारु खर्च गरिएको छ । यस चलचित्रले स्याटेलाइट प्रसारण अधिकार बेचेर २० करोड कमाइसकेको छ ।

ओपनिङकै दिन ८.७१ करोड भारु कमाएर यस चलचित्रले डेब्यु कलाकारहरू अभिनित सर्वाधिक ठुलो ओपनिङ गर्ने रेकर्ड कायम गरेको थियो ।

यो २०१८ को आठौँ ठुलो ओपनिङ रहेको थियो ।

शनिबार र आइतबार कमाइमा महत्वपूर्ण वृद्धि भएपछि यस चलचित्रको सप्ताहान्तको कमाइ ३३.६ करोड थियो ।

बलिउड चलचित्रहरूका निम्ति सबैभन्दा चुनौतिपूर्ण दिन सोमवार हुने गर्दछ । सप्ताहान्तमा विदा हुने भएकाले ठुला सहरका अनिस अक्सर सिनेमा हेर्न जाने भएकाले पहिआ तीन दिन अक्सर फिल्महरूले राम्रो गरे पनि सोमवार राम्रो विषयवस्तु छैन भने मानिस सिनेमाहल नजाने भएकाले कतिपय चलचित्रहरू सोमवारका दिन निकै कमजोर देखिने गर्दछन् ।

तर यस चलचित्रले भने साढे पांच करोडभन्दा माथिको कमाइ गरेर उक्त परीक्षा पास गरिसकेको छ ।

भारतमा २२३५ र विदेशमा ५५६ गरेर संसारभरि जम्मा २७९१ स्क्रीनमा रिलिज भएको यस चलचित्रकी नायिका जान्हवी दिवंगत बलिउड अभिनेत्री श्रीदेवी र चलचित्र निर्माता बोनी कपूरकी छोरी हुन् । साथै यस चलचित्रका नायक इशान खट्टर अभिनेता साहिद कपूरका सौतेला भाई हुन् ।

मराठी भाषाको ब्लकबस्टर चलचित्र ‘सैराट’को रिमेक रहेको यस चलचित्रको मुख्य विषयवस्तु ‘टीन-एजर लभ’ रहेको छ । चलचित्रको औवत समीक्षा रहेको भएपनि दर्शकहरूको सकारात्मक समीक्षाको प्रत्यक्ष फाइदा यसले उठाइरहेको छ ।

कमेन्ट गर्नुहोस्