चिनियाँ राष्ट्रपति दक्षिण अफ्रिकामा

प्रिटोरिया, साउन ८ । चिनियाँ राष्ट्रपति सी जिनपिङ सोमबार दक्षिण अफ्रिका पुगेका छन् । सोमबार दक्षिण अफ्रिकाका पुग्दा उनलाई उच्चस्तरीय अधिकारीहरुले प्रिटोरिया विमानस्थलमा विशेष तथा भव्य स्वागत गरेका थिए ।

दक्षिण अफ्रिकासँगको सम्बन्ध विकास र द्धिपक्षीय हितका विभिन्न एजेण्डाहरुमा छलफल गर्नका लागि उनी दक्षिण अफ्रिका पुगेका बताइएको छ । दोस्रो कार्यकालको रुपमा गएको फेब्रुअरीमा कार्यकाल सम्हाल्नुभएपछि राष्ट्रपति जिनपिङ पहिलो पटक दक्षिण अफ्रिकाको भ्रमणमा निस्किएका हुन ।

यी दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको २० औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने विशेष समारोहहरुमा उनी सहभागी हुने कार्यक्रम रहेको दक्षिण अफ्रिकाको विदेश मन्त्रालयले जानकारी दिएको छ ।

दक्षिण अफ्रिका ओर्लिएपछि संक्षिप्त प्रतिक्रियामा राष्ट्रपति जिनपिङले गएको २० वर्षमा चीन र दक्षिण अफ्रिका बीचको सम्बन्ध निकै राम्रो विकास भएको बताए ।

हामीबीच २० वर्षअघि शुरु भएको सम्बन्ध आजका दिनमा आइपुग्दा राणनीतिक साझेदारीका रुपमा विकास भएको र आगामी दिनमा यसलाई अझ सुमधुर र सुदृढ बनाउदै लानुपर्ने धारणा राखे ।

उनले राजनीतिक रुपमा आपसी पारस्परिक विश्वासका साथै सहयोग समन्वय, जनताबीचको सम्बन्ध र अन्य धेरै क्षेत्रमा पनि विश्वासिलो वातावरण निर्माण भएको पनि बताए ।

दक्षिण अफ्रिका चीनको सबैभन्दा ठूलो अफ्रिकी व्यापारिक साझेदार रहेको छ । त्यस्तै दक्षिण अफ्रिकाको पनि सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन रहेको छ । यी दुई देशबीचको व्यापारिक साझेदारिता पनि आजका दिनमा बढ्दो रुपमा रहेको बताइन्छ ।

राष्ट्रपति चिनफिङले भने, हामीबीचको व्यापारिक तथा पारस्पारिक सम्बन्धको थप विकास गर्नुको साथै चीन अफ्रिका सहयोगसम्बन्धी बेइजिङमा हुने सम्मेलनका बारेमा पनि दक्षिण अफ्रिकी राष्टपतिसँग आफूले छलफल गर्नेछौँ ।

राष्ट्रपति चिनफिङ दक्षिण अफ्रिकाको जोहानेस्बर्गमा आयोजना हुने ब्रिक्स सम्मेलनमा सहभागी हुनुहुने छ । सो सम्मेलन यही जुलाई २५ देखि २७ सम्म आयोजना गरिएको छ । त्यस सम्मेलनको समयमा उनले विभिन्न देशका राष्ट्रपतिहरुसँग पनि द्धिपक्षीय भेटावार्ताहरु गर्नुहुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्