प्रचण्ड भन्छन्,-‘राम्रोसंँग भुइँमा खुट्टा टेक्न नपाउँदै कांग्रेसले विरोध गर्नु राम्रो होइन’

काठमाडौं, साउन ९ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले राम्रोसँग भुइँमा खुट्टा टेक्न नपाउँदै कांग्रेसले विरोध गर्नु राम्रो संकेत नभएको बताएका छन् । मंगलबार प्रेस चौतारी र प्रेस सेन्टरले पार्टी कार्यालय धुम्बाराहीमा राखेको प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रचण्डले एमाले माओवादी केन्द्रबीचको एकता राम्रोसँग हुन नपाई बनेको पार्टीको सरकारले गरेका निर्णयलाई लिएर कांग्रेसले विरोध गर्नु राम्रो लक्षण नभएको बताए । ‘वितण्डा मच्चाउन खोजिएको छ, जुन राम्रो होइन,’ प्रचण्डले भने, ‘राम्रोसंँग भुइँमा खुट्टा टेक्न नपाउँदै विरोध गर्न थालिएको छ ।

हामीले दह्रोसँग टेक्न नपाउँदै लडाउँने खेल सुरु भएको छ ।’ दुई ठूला कम्युनिस्ट पार्टी माथिदेखि तलसम्म एकता हुन नपाउँदै कांग्रेसले विरोध गर्नु ठूलो षड्यन्त्र हुन सक्ने उनको भनाइ थियो । यस्तो अवस्थामा जनमत निर्माण गरी कांग्रेसको प्रतिवाद गर्न जरुरी रहेको उनले बताए । ‘हामी वार्ता गर्न तयार छौँ । उचित मागलाई सम्बोधन गर्न तयार छौँ,’ प्रचण्डले भने, ‘अनावश्यक विरोधको प्रतिवाद गर्न सक्नुपर्छ ।’ नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्