आज पाकिस्तानमा चुनाव, ८४९ सिटका लागि करीव १२ हजारबीच प्रतिष्पर्धा !

काठमाडौं, साउन ९ । १० करोड ६० लाख मतदाता रहेको पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । चुनावमा ८४९ सिटको लागि ११ हजार ८५५ उम्मेदवारबीच प्रतिष्पर्धा भइरहेको छ । त्यहाँको निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभाको २७२ सिटको लागि ३४५९ जना भिड्दैछन् भने ४ वटा प्रान्तीय सभाहरुको ५७७ सिटको लागि ८३९६ उम्मेदवारहरु खडा भएका छन् ।

 जम्मा ३४२ सदस्य रहने पाकिस्तानको राष्ट्रिय सभामा ६० सिट महिला र १० सिट धार्मिक अल्पसंख्यकको लागि आरक्षित छन् । यो चुनावमा त्यहाँ प्रमुख दलका शीर्ष नेताहरुले समेत अलग अलग प्रान्तका विभिन्न सिटहरुबाट उम्मेद्वारी दिएका छन् ।

पाकिस्तानी मुस्लिम लिग-नवाबका सभापति सहवाज सरिफ ४ स्थानबाट प्रतिष्पर्धामा छन् भने यसपटकको चुनावमा अपेक्षाकृत राम्रो नतिजा हात पर्ने अनुमान गरिएको दल तरिक-ए-इन्साफका प्रमुख तथा पूर्वक्रिकेटर इमरान खानले ५ स्थानमा मनोनयन गरेका छन् । पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जर्दारी भने ३ क्षेत्रबाट चुनाव लड्दैछन् ।

पाकिस्तानमा पछिल्लो पटक पाकिस्तानमा एक सेना प्रमुखले जनताले चुनेको सरकारलाई हटाएर अर्थात सैन्य कु गरेर शासन सत्ता आफ्नो हातमा लिएको १९ वर्ष भएको छ । त्यसपछि दुईपटक लोकतान्त्रिक चुनाव भयो । उनीहरुले सत्ता चलाए ।

तर पाकिस्तानी राजनीतिमा अनिश्चिता भने जहिले कायम रहेको छ । पछिल्लो पटक गएको वर्ष पूर्व प्रधानमन्त्री नवाज शरीफलाई पदबाट हटाएपछि सरकारले आफ्नो कार्यकाल पूरा गर्न नसक्ने अनुमान गरिएको थियो र डर थियो कि फेरि सेना सत्तामा आउने छ । तर संसदले आफ्नो कार्यकाल पूरा गरेको छ ।

पाकिस्तानमा सन् २०१३ मा चुनाव भएको थियो । पाँच वर्षअघि र अहिलेको अवस्था पूरै फरक रहेकाले सत्ता समिकरण फर हुने राजनीतिक विश्लेषकले बताएका छन् । नवाज शरीफमाथि लागेको भ्रष्टाचार आरोप, धार्मिक दलको प्रभाव तथा सञ्चारमाध्यम र सामाजिक सञ्जालको प्रभावका कारण पाकिस्तानको परिवेश परिवर्तन भएको छ । यस्तै बलियो बनेर उदायका इमरान खान, टक्कर दिन तयार रहेका बिलावल भुट्टोसहितले चुनावलाई थप रोमाञ्चक बनाएका छन् ।

पूर्व प्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मरियम भ्रष्टाचार आरोपमा जेल गएपछि पाकिस्तानको राजनीतिमा ठूलो उथल–पुथल भएको छ । तर पनि उनको पार्नी मुस्लिम लिग ९नवाज० लाई अहिले पनि सत्ताको दौडमा कडा प्रतिस्पर्धीको रुपमा हेरिएको छ । -एजेन्सी

कमेन्ट गर्नुहोस्